logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत

    धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत

    3K
    Shares
    धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत

    काठमाडौं । निर्माण सुरु भएको दुई दशकपछि धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत सकिएको छ । पछिल्लो समयमा कार्यक्षेत्र केही बढाइएको भए पनि पहिलेको अनुसार करिडोर निर्माणको प्रगति ९६ प्रतिशत पुगेको काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ । मर्मतका केही काम बाँकी रहेकामा अहिले भइरहेको प्राधिकरणका इञ्जीनियर सज्जन कुँवरले जानकारी दिए ।

    सङ्खमूलबाट कपनसम्मको करिडोरमा हाल निलो पुल नजिकै पाँच–छ घर अधिग्रहण गर्न बाँकी रहेको इञ्जीनियर कुँवरले बताए । सो क्षेत्रमा जग्गा अधिग्रहण गरेर सडक खोल्न बाँकी रहेको छ भने बूढानीलकण्ठ नगरपालिका–२ मा पहिरो जाने खण्डमा पनि निर्माणको काम थोरै बाँकी रहेको छ । उनले भने, ‘झन्डै पाँच सय मिटर सडक खोल्न बाँकी छ ।’

    करिडोरमा पर्ने पुल निर्माणको काम कुनै प्रदेश सरकार त कुनै सङ्घीय सरकारको डिभिजन सडक कार्यालयले गरिरहेका छन् । करिडोरमा प्राधिकरणले पैदलयात्रुमार्ग बनाएको थियो । विभिन्न संरचना निर्माणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणले पैदलयात्रुमार्ग भत्काएको छ । उनले भने, ‘जुन–जुन निकायले बिगार्ने र भत्काउने गरेको छ उसले नै बनाइरहेको छ । कतै भइसकेको छ र कतै भइरहेको छ ।’

    करिडोरमा नै पुलमुनिको सडक (अन्डरपास)ले गर्दा मुख्य सडकको सवारी चाप व्यवस्थापनमा सहयोग पुगेको छ । यी अन्डरपासमा वर्षाको समयमा भने सडकमा पानी जम्ने समस्या छ । पुलमुनि पानी जाने ठाउँ नभएकाले वर्षाले सडक डुब्नु स्वभाविक भएको इञ्जीनियर कुँवरले बताए । आधा एक घण्टा पानी पर्दा सडक तत्काल डुबे पनि केही समयपछि पुनः पानी खोलामा गएर सडक चालु हुने गरी मिलाइएको उनले बताए । उनले भने, ‘सकेसम्म सडकमा पानी धेरै नजमोस् भनेर तर खोलाको सतह घटेपछि पानी हट्ने गरेर मिलाइएको छ ।’

    पहिले झन्डै २४ किमी सडक निर्माण गर्ने गरी योजना सुरु भए पनि पछिल्लो समयमा कार्यक्षेत्र विस्तार गरिएको छ । पहिले करिडोर योजनामात्रै रहेकामा हाल धोबीखोला करिडोर तथा कपन बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना बनाइएको छ ।

    उपत्यकाको मुख्य सडकको सवारी चाप व्यवस्थापन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले विसं २०५९ वैशाखमा सो करिडोरको निर्माण सुरु गरेको थियो । विसं २०६४ पुसदेखि प्राधिकरण (तत्कालीन काठमाडौँ उपत्यका नगर विकास समिति) ले निर्माण गर्दै आइरहेको छ । करिडोरको निर्माण सम्पन्न हुन लागे पनि सडक अरु निकायको संरचनाका कारण यात्रुले सजिलोरूपमा हिँड्न पाइरहेका छैनन् । विगतमा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरूले सो करिडोरका विषयमा चासो देखाएर स्थलगत निरीक्षण गरेका थिए ।

    सहरी विकास मन्त्रालयले धोबीखोलासँगै बागमती, मनोहरा, हनुमन्तेलगायतका नदीमा समेत करिडोर निर्माण अघि बढाइरहेको छ । नदीको दुवैतर्फ निर्माण हुने करिडोरले मुख्य सडकको जाम कम गर्न सहयोग गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend