logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रकाश ज्वाला हटाउन प्रचण्डलाई विपक्षीको दबाब, माधव नेपाललाई पार्टीभित्रै दबाब

    प्रकाश ज्वाला हटाउन प्रचण्डलाई विपक्षीको दबाब, माधव नेपाललाई पार्टीभित्रै दबाब

    7.7K
    Shares
    प्रकाश ज्वाला हटाउन प्रचण्डलाई विपक्षीको दबाब, माधव नेपाललाई पार्टीभित्रै दबाब

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा यतिखेर भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला हटाउनुपर्ने दबाब बढ्दो छ ।

    गत बिहीबार बसेको पार्टीको सचिवालय बैठक होस् या अन्य बैठकहरुको प्रमुख बहस यही विषयको हुने गरेको छ । अहिले पार्टीका नेताहरुले अध्यक्ष नेपाललाई दिनहुँ गर्ने प्रश्न हो– बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई किन सरकारबाट फिर्ता नबोलाएको ?

    गत पुसमा ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जानेगरी भएको घटनाको जाँचबुझ आयोगले यसैहप्ता दिएको प्रतिवेदनमा ती युवाको ज्यान जाने घटनाको मुख्य दोषी मन्त्री प्रकाश ज्वालालाई किटानी गरेको छ । दोषी देखिएका मन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउनुपर्ने माग अहिले सर्वत्र भइरहेको छ । यही बेला नेकपा एसमा पनि यो बहस दिन दिनै बढ्दो छ ।

    पार्टीका अधिकांश केन्द्रीय सदस्यहरुले उक्त प्रतिवेदनका कारण समग्र क्षेत्रमा पार्टीको बदनाम भइरहेकाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउनुको अर्काे बिकल्प नरहेको भन्दै अध्यक्ष नेपालसँग माग गरेका छन् ।नेकपा एसका नेताहरुले आफ्नो पार्टी नयाँ पार्टी हो । अहिले नै नैतिकताको अभाव कहीँ कतैबाट पनि पार्टीमा देखिनुहुन्न । हामी नयाँ भएकाले पनि संगठन निर्माण गर्नुपर्ने अवस्था छ ।

    उता विपक्षी दल र विशेष गरी एमाले अध्यक्ष ओली हामीमाथि खनिएका छन् । जनताले पनि सडकबाट निर्दाेष युवाको ज्यान लिने मन्त्रीले राजीनामा दिनुपर्छ भनेर माग चर्काएका छन् । यस्तो अवस्तथामा कुनै एकजना मन्त्रीका कारण पार्टीलाई नै बद्नामित गर्नु हुँदैन । प्रकाशजीलाई सरकारबाट फिर्ता बोलाउनुपर्यो भनेर अध्यक्ष नेपालमाथि दबाब परेको हो ।

    यस विषयमा माधव नेपालको धारणा केही सार्वजनिक नभएको भए पनि सडक र सदनबाट नै ती मन्त्रीलाई जतिसक्दो चाँडो बर्खास्त गर्नुपर्ने माग आएकाले अब यो दबाब उनले थेग्न सक्ने देखिएको छैन । यसकारण पनि माधव नेपालले कुनै सार्वजनिक धारणा राख्न नसकेको सोही पार्टीका एकजना नेताको बुझाई छ ।

    उता प्रमुख विपक्षी दल नेकपा एमालेले पनि मन्त्री ज्वालालाई कुनै पनि हालतमा फिर्ता गर्नुपर्ने अन्यथा संसद चल्न नदिने बताएको छ । एमाले अध्यक्ष ओलीले नै भाषण गर्दै आफैँले गठन गरेको न्यायिक जाँचबुझ आयोगले दोषी ठहर गरेको व्यक्तिलाई मन्त्री पदमै राखेर सरकारले तमासा देखाएको टिप्पणी गरेका थिए । उनले प्रधानमन्त्रीलाई नै एक दोषी मन्त्री हटाउन नसक्ने हुतिहारा भनेका छन् ।

    त्यस्तै राप्रपादेखि एमालेसम्मले संसदमा नै दोषी मन्त्रीलाई तुरुन्त हटाउन भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । विपक्षी दलहरुले मन्त्री ज्वालासँगै भ्रष्टाचारको आरोपमा अख्तियारमा बयान दिइरहेका मन्त्री मोहनबहादुर बस्नेतलाई पनि बर्खास्त गर्न भनेका छन् ।

    प्रधानमन्त्रीले पनि सो आयोगको प्रतिवेदनको अध्ययन गरेर छिट्टै निष्कर्षमा पुग्ने बताएका थिए । तर उनी निष्कर्षमा कहिले पुग्ने भन्ने कुरा अझै टुंगिएको छैन । प्रधानमन्त्री पनि विवादस्पद मन्त्रीलाई पदमा राख्न नहुने त बताएका छन् तर निकाल्न पनि सकिरहेका छैनन् ।

    प्रकाश ज्वाला मन्त्रीमै रहँदा सरकारको पनि बदनाम भएको भनेर प्रधानमन्त्री प्रचण्डलाई उता माओवादी पार्टीबाट पनि दबाब आएको बुझिएको छ । त्यसैले पनि अब प्रधानमन्त्री प्रचण्डले धेरै दिन थेग्न नसक्ने भएकाले एक दुई दिनमै यस विषयमा निर्णय गर्ने बुझिएको छ ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend