२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

राष्ट्रपतिको शपथ लिनुअघि ट्रम्पले घोषणा गरे आफ्नो नामको क्रिप्टोकरेन्सी

सोमवार , माघ ७, २०८१

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले आफ्नै क्रिप्टोकरेन्सी घोषणा गरेको छन्। उक्त डिजिटल मुद्रा केही घण्टामै कैयौँ अर्ब डलरमा परिणत भएको थियो। मिम कोइन $Trump नाम दिइएको उक्त क्रिप्टो सोमबार ट्रम्पले संयुक्त राज्य अमेरिकाका ४७औँ राष्ट्रपतिका रूपमा शपथ लिनु अघि घोषणा गरेका थिए।

ट्रम्प अर्गनाइजेशनको एउटा भातृ निकाय सीआईसी डिजिटल एलएलसीले उक्त भेञ्चरको संयोजन गरेको थियो। विगतमा उक्त निकायले ट्रम्पको ब्रान्ड प्रयोग गरिएका जुत्ता र अत्तरहरू बिक्री गर्नेगर्थ्यो।

ट्रम्पले मीम कोइनबारे के भने ?

मिम कोइनहरू इन्टरनेटमा भाइरल रहेका ट्रेन्डहरूलाई अझ लोकप्रिय बनाउन ल्याउने गरिए तापनि तिनको वास्तविक मूल्य धेरै नहुने र लगानीको हिसाबले जोखिम पनि बढी हुने ठान्ने गरिन्छ। तर घोषणा गरिएको केही घण्टामा नै $Trump को बजारको पुँजी ५.५ अर्ब डलर पुगेको कोइनमार्क्रेटक्याप डट कमले जनाएको छ।

सीआइसी डिजिटल एलएलसी र यसै महिनाको सुरुमा डेलावेयरमा घोषणा भएको फाइट फाइट फाइट एलएलसीको स्वामित्वमा ८० प्रतिशत 'टोकन'हरू रहेका छन्। यसबाट ट्रम्पले कति आम्दानी गर्नेछन् भन्ने प्रस्ट छैन।

"मेरो नयाँ आधिकारिक ट्रम्प मीम उपलब्ध भइसकेको छ। हाम्रा सबै मान्यताहरू, हाम्रो विजयका लागि खुसीयाली मनाउने समय यो हो," ट्रम्पले शुक्रवार राति मीम कोइनको घोषणा गर्दै आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेखेका थिए।

झन्डै २० करोड डिजिटल टोकनहरू सार्वजनिक गरिएको छ भने आगामी तीन वर्षमा थप ८० करोड $Trump क्रिप्टो सार्वजनिक गरिने उक्त कोइनको वेबसाइटमा जनाइएको छ। "ट्रम्प मीमले जतिसुकै अप्ठेरो परिस्थितिमा पनि पछि नहट्ने एउटा नेताप्रति सम्मान व्यक्त गर्छ," सो वेबसाइटमा भनिएको छ।

त्यसमा एउटा स्पष्टीकरण पनि उल्लेख गरिएको छ जसले उक्त सिक्का लगानीको अवसर र सुरक्षा सवाल हुन नचाहेको र नरहेको भन्दै कुनै राजनीतिक अभियान, कार्यालय वा सरकारी निकायसँग यसको लेनादेना नरहेको जनाइएको छ।

आलोचकहरूले के भनिरहेका छन् ?

आलोचकहरूले भने ट्रम्पलाई राष्ट्रपतीय पदको प्रयोग गरेर लाभ लिन खोजेको आरोप लगाएका छन्। "ट्रम्पले ८० प्रतिशत स्वामित्व राख्नु र शपथग्रहणअघि यसलाई सार्वजनिक गर्नु अरूलाई सिकार गर्नु जस्तै हो। यसबाट धेरैलाई चोट पर्नसक्ने सम्भावना छ," सामाजिक सञ्जालमा राखिएको पोस्टमा एकजना क्रिप्टो भेन्चर क्यापिटालिस्ट निक टोमाइनोले भने।

यस्ता खालका डिजिटल मुद्राहरू बदनाम छन् किनभने उनीहरूले पछाडि आउने लगानीकर्ताहरूलाई ठूलो नोक्सानी गराउँछन्। चर्चाका कारण सुरुमा ह्वातै मूल्य बढ्ने भएपनि पछि बजार मूल्य निकै कम हुने जोखिम रहन्छ।

क्रिप्टोकरेन्सीका लगानीकर्ताहरूले ट्रम्प प्रशासनले उक्त उद्योगलाई बढवा दिने अपेक्षा गरिरहेका छन्।

राष्ट्रपति जो बाइडनका नियामक निकायहरूले ठगी र सम्पत्ति शुद्धीकरण जस्ता चिन्ताहरू व्यक्त गर्दै क्रिप्टो कम्पनीहरूविरुद्ध कडा नीति अख्तियार गरेका थिए।विगतमा ट्रम्प पनि क्रिप्टोकरेन्सीबारे खासै उत्साहित थिएनन्।

तर अघिल्लो वर्ष बिटकोइनको एउटा सम्मेलनमा बोल्दै उनले आफू वासिङ्टनमा फर्किएपछि अमेरिका 'पृथ्वीको क्रिप्टो राजधानी' बन्ने घोषणा गरेका थिए। उनका छोराहरू एरिक र डोनल्ड जुनीअरले अघिल्लो वर्ष आफ्नै क्रिप्टो भेन्चरहरूको घोषणा गरेका छन्।

यसैबीच सोमबार हुने शपथग्रहणमा सहभागी हुन राष्ट्रपति निर्वाचित ट्रम्प वासिङटन डीसी पुगेका छन्। ट्रम्पले सप्ताहन्तमा आफ्ना समर्थकहरू र चन्दादातासहितलाई लक्षित गरेर विभिन्न समारोहहरू आयोजना गर्दैछन्। -बीबीसी

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट