२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रास्वपा सिन्धुपाल्चोकको पहिलो जिल्ला अधिवेशन : नेतृत्वका लागि आधा दर्जन आकांक्षी मैदानमा

शुक्रवार , जेठ २२, २०८३

सिन्धुपाल्चोक / सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको पहिलो जिल्ला अधिवेशन शनिबार देखि सुरु हुने भएको छ । रास्वपाका असार ७ देखि ९ सम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन हुदैछ ।

 महाधिवेशन अगाढी सबै वडा,पालिका,जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गर्न रास्वपा केन्द्रले निर्देशन दिएको थियो । अधिवेशन प्रतिनिधिमुलक रुपमा पर्यटकीय क्षेत्र सुकुटेमा हुदै छ ।

रास्वपाले राष्ट्रिय महाधिवेशनअघि देशभरका वडा, पालिका, जिल्ला तथा प्रदेश तहका अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो । सोही क्रममा सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये ११ पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ । लिसंखु पाखर गाउँपालिकामा भने आन्तरिक विवादका कारण अधिवेशन हुन सकेको छैन । यद्यपि, हाल कार्यरत पालिका समितिका पदाधिकारीहरूले जिल्ला अधिवेशनमा प्रतिनिधिका रूपमा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ । रास्वपा चौतारा साँगाचोकगढी नगरपालिकाका सभापति विजय नेपालका अनुसार अधिवेशनमा जिल्लाभरबाट पाँच सयभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहनेछ।

कसरी छनोट हुन्छन् प्रतिनिधि ?

पहिलो पटक अधिवेशनमार्फत नेतृत्व चयन गर्न लागेको रास्वपाले प्रतिनिधि छनोटका लागि विधानअनुसार व्यवस्था गरेको छ । गाउँपालिकाबाट पालिका समितिका सबै सदस्य तथा ३ सयभन्दा बढी सदस्य संख्या भएका पालिकाबाट थप तीन प्रतिनिधि सहभागी हुन पाउनेछन् । नगरपालिकाका हकमा नगर समितिका सबै सदस्य र ४ सय सदस्य पुगेको अवस्थामा थप चार प्रतिनिधि जिल्ला अधिवेशनमा सहभागी हुन सक्नेछन् ।

जिल्लाका १०३ वटै वडाका वडा सभापति स्वतः जिल्ला प्रतिनिधि हुनेछन् । त्यस्तै पालिका समिति अन्तर्गत गठन गरिएका विभागका संयोजक, सहसंयोजक र सचिवलाई पनि प्रतिनिधिको अधिकार दिइएको छ । तर सबै पालिकामा सबै विभाग गठन नभएकाले विभागीय प्रतिनिधिको संख्या अपेक्षाकृत कम हुन सक्ने सभापति नेपालले जानकारी दिए।

क्षेत्रीय समिति, वर्तमान जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू, साथै सिन्धुपाल्चोकबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरू पनि स्वतः प्रतिनिधिका रूपमा सहभागी हुने व्यवस्था रहेको छ।

नेतृत्व चयनमा तीव्र प्रतिस्पर्धा

पहिलो पटक अधिवेशनमार्फत जिल्ला नेतृत्व चयन गर्न लागेको रास्वपा सिन्धुपाल्चोकमा नेतृत्वका लागि नेताहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। पालिका अधिवेशनमा निर्वाचनमार्फत नेतृत्व चयन गरेको पार्टीले जिल्ला तहमा पनि सर्वसम्मति नभए निर्वाचन प्रक्रियाबाट नेतृत्व टुंग्याउने तयारी गरेको छ।

पार्टीभित्र संस्थापक समूह र पछिल्लो समय अन्य दलबाट प्रवेश गरेका नेताहरूबीच मतभेद रहेको चर्चा चलिरहेका बेला नेतृत्वका आकांक्षीहरूको संख्या बढ्दै गएको छ । संस्थापक पक्षले पार्टी निर्माणमा आफुहरु भूमिका महत्वपूर्ण रहेको दाबी गर्दै आएका छन् भने पछिल्लो समय प्रवेश गरेका नेताहरूले आफूहरूलाई विभेदपूर्ण व्यवहार गरिएको गुनासो गर्दै आएका छन् ।

जिल्ला सभापति माया गुरुङले पदबाट राजीनामा दिएपछि कार्यवाहक सभापति पासाङ तामाङ, सचिव चक्रपाणि सिग्देल र कोषाध्यक्ष दिलराम श्रेष्ठ नेतृत्वका प्रमुख दाबेदारका रूपमा देखिएका छन् । त्यसैगरी जेपी सिलवाल, कुमार श्रेष्ठ, सरोजा श्रेष्ठ तथा क्षेत्रीय सभापति निमा याङछेन ह्योल्मोले पनि नेतृत्वमा दाबी प्रस्तुत गरेका छन्।

नेतृत्वको दौडमा रहेकी सरोजा श्रेष्ठले चौतारा साँगाचोकगढी नगरपालिकाको अधिवेशन अवैध भएको भन्दै केन्द्रमा उजुरी दिएपछि केही प्रतिनिधिहरू उनीप्रति असन्तुष्ट बनेको चर्चा छ।

यता प्रतिनिधिसभा निर्वाचनअघि क्षेत्र नम्बर १ का उम्मेदवार भरतप्रसाद पराजुलीसँगै रास्वपामा प्रवेश गरेका जेपी सिलवाल नयाँ अनुहार भए पनि प्रतिनिधिहरूमाझ लोकप्रिय रहेको बताइन्छ। अधिवेशनमा उनको नेतृत्वमा बलियो सम्भावना देखिएको भन्दै प्रतिनिधिहरूले आकलन गरेका छन्।

रास्वपाले पछिल्लो निर्वाचनमा देशव्यापी जनसमर्थन प्राप्त गरेको र संघीय सरकारमा समेत सहभागिता जनाइरहेको सन्दर्भमा पार्टीको जिल्ला नेतृत्वमा पुग्न नेताहरूको आकांक्षा उल्लेखनीय रूपमा बढेको देखिएको छ। अधिवेशनले नयाँ नेतृत्व चयनसँगै जिल्लामा पार्टीको आगामी संगठनात्मक दिशा तय गर्ने रास्वपाका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट