२०८३, श्रावण ५ गते

मंगलवार, श्रावण ५ गते २०८३

एमाले - नेकपा सहकार्य

सुध्रँदो एमाले–नेकपा सम्बन्ध : प्रदेश सरकारको सहकार्यबाट नयाँ वाम ध्रुवीकरणतर्फ

सोमवार , श्रावण ४, २०८३

सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको सत्ता संकटले नेपाली राजनीतिमा नयाँ समीकरणको संकेत दिएको छ । केही साताअघिसम्म एकअर्काका कट्टर आलोचक देखिएका नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीचको सम्बन्ध अहिले कार्यगत सहकार्य हुँदै दीर्घकालीन राजनीतिक समझदारीतर्फ उन्मुख देखिएको छ ।

सत्ता सहकार्यको सुरुआत प्रदेशबाट भए पनि त्यसले भविष्यमा वाम एकताको बहसलाई पुनः जीवित बनाउने संकेत राजनीतिक वृत्तमा देखिन थालेको छ र दुइ पार्टी बीचको छलफल ले त्यही संकेत गरेको छ ।

राजनीतिक घटनाक्रमले अब सातै प्रदेशमा एमाले र नेकपाबीच सहकार्यको ढोका खुल्ने सम्भावना बलियो बनेको छ । दुवै दलका नेताहरूले सार्वजनिक रूपमा संयमित अभिव्यक्ति दिए पनि आन्तरिक तहमा भने सत्ता सहकार्यको मोडालिटीदेखि भविष्यको राजनीतिक सहकार्यसम्मका विषयमा गम्भीर छलफल भइरहेको स्रोतहरूको दाबी छ ।

सुदूरपश्चिमबाट सुरु भएको नयाँ समीकरण

यो नयाँ समीकरणको सुरुआत सुदूरपश्चिम प्रदेशबाट भएको छ । प्रदेश सरकारले ल्याएको बजेटमाथि एमाले सांसदहरूले खर्च कटौती प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री कमलबहादुर शाहले बजेट पारित गराउन निकै प्रयास गरे ।

तर सहमति जुट्न नसकेपछि उनले एमालेका मन्त्रीहरूलाई पदमुक्त गरे ।  यही घटनाले कांग्रेस–एमाले सम्बन्धमा दरार ल्यायो र त्यसको राजनीतिक प्रभाव अन्य प्रदेशसम्म फैलियो ।

यसअघि कांग्रेस र नेकपाबीच सुदूरपश्चिममा नयाँ सत्ता समीकरण बन्ने चर्चा चलेको थियो । तर अन्तिम समयमा त्यो प्रक्रिया रोकियो । त्यसपछि एमाले र नेकपाबीच संवाद तीव्र बनेको स्रोतहरूको दाबी छ ।

यसको प्रभाव बागमती प्रदेशमा पनि देखिएको छ । केन्द्रबाट सरकार छाड्ने संकेत पाएपछि एमालेका मन्त्रीहरूले राजीनामाको तयारी गरेका थिए । तर पछिल्लो राजनीतिक संवादपछि त्यो निर्णय तत्कालका लागि रोकिएको छ ।

प्रदेशको सहकार्य मात्रै होइन, वाम ध्रुवीकरणको बहस

दुवै दलका नेताहरू प्रदेश सरकारको अंकगणितलाई मात्रै प्राथमिकतामा नराखी वाम शक्तिको दीर्घकालीन राजनीतिक भविष्यबारे समेत छलफल गरिरहेका छन् ।

श्रीलंका भ्रमणबाट फर्किएपछि नेकपाका संयोजक पुष्पकमल दाहाल सक्रिय रूपमा आन्तरिक तथा अन्तरदलीय छलफलमा जुटेका छन् । उनी विदेशमा रहेका कारण केही दिनदेखि रोकिएको संवाद अब निर्णायक चरणमा पुग्ने नेताहरूको विश्वास छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा रहेकी केन्द्रीय सदस्य निरुदेवी पालका अनुसार दुवै पक्षबीचको छलफल सकारात्मक दिशामा अघि बढेको जानकारी दिइन ।

‘अहिले दुवै पक्षका नेताहरू आन्तरिक छलफलमा हुनुहुन्छ। भोलिसम्म केही निर्णय आउन सक्छ ।’ पालले भनिन् ।
यसले कार्यगत सहकार्यको औपचारिक मोडालिटी सार्वजनिक हुन सक्ने संकेत दिएको छ ।

सापकोटाको प्रस्ताव : प्रदेश होइन, पार्टी एकतासम्म जानुपर्छ

नेकपाका वरिष्ठ नेता तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले अहिलेको राजनीतिक परिस्थितिलाई केवल सत्ता साझेदारीको विषयका रूपमा नहेर्न आग्रह गरेका छन् ।

thumb.jpg

उनका अनुसार अहिलेको आवश्यकता प्रदेश सरकारको समीकरणभन्दा ठूलो छ । सापकोटाले  सहकार्यका चार आधार प्रस्तुत गरेका छन्  ।वाम शक्तिबीच कार्यगत सहकार्य,विगतका कमजोरीबाट पाठ सिक्दै पार्टी एकताको सम्भावना, राष्ट्रियताको सवालमा साझा धारणा र देशलाई केन्द्रमा राखेर दीर्घकालीन संयुक्त मोर्चा ।

उनको भनाइमा अहिले  देशको अपरिस्थिति सामान्य राजनीतिक प्रतिस्पर्धाभन्दा बाहिर पुगिसकेको बताए । उनले भने–‘कम्युनिष्टहरूबीच सहकार्य आवश्यक छ , एमालेबिनाको वाम सहकार्यको खास अर्थ रहँदैन ।’

प्रचण्ड सक्रिय, माधव नेपालसँग पहिलो भेट

श्रीलंकाबाट फर्किएलगत्तै प्रचण्डले पार्टीभित्रको छलफल सुरु गरेका छन् । सोमबार बिहान उनले स्वास्थ्यका कारण कोटेश्वर निवासमै आराम गरिरहेका सहसंयोजक माधवकुमार नेपालसँग भेट गरेका थिए ।

भेटमा प्रदेश सरकारको बदलिँदो समीकरण, एमालेसँग भइरहेको संवाद र आगामी रणनीतिबारे छलफल भएको नेकपा नेताहरूले बताएका छन् ।

स्रोतका अनुसार प्रचण्ड विदेश जानुअघि नै ओलीसँग यस विषयमा सकारात्मक संवाद भइसकेको थियो । त्यसपछि नेकपाका नेताहरू वर्षमान पुन र प्रमेश हमाललाई एमालेसँग औपचारिक संवादको जिम्मेवारी दिइएको थियो ।

किन फेरि नजिकिए ओली र प्रचण्ड?

ओली र प्रचण्डबीचको सम्बन्ध नेपाली राजनीतिमा पटक–पटक उतारचढावबाट गुज्रिएको छ ।  पहिलो चरणमा दुवै दल एकीकृत भएर तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो ।त्यसपछि पार्टी विभाजनसँगै सम्बन्ध अत्यन्तै तिक्त बन्यो।
२०७९ को निर्वाचनपछि ओलीले नै प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन दिए र सम्बन्ध पुनः सुधारियो।
तर कांग्रेस–एमाले नयाँ गठबन्धन बनेपछि प्रचण्ड सरकारबाट बाहिरिए र सम्बन्ध फेरि चिसियो ।

यही तित्ततापुर्ण सम्बन्ध  बाट अहिले फेरि दुवै नेता सहकार्यको बाटोमा देखिएका छन् । 

स्थानीय निर्वाचनको गणित पनि प्रमुख कारण

राजनीतिक विश्लेषकहरूका अनुसार एमाले र नेकपा नजिकिनुको एउटा प्रमुख कारण आगामी स्थानीय तह निर्वाचन पनि हो ।
गत प्रतिनिधिसभा निर्वाचनमा दुवै दलले अपेक्षाअनुसार परिणाम ल्याउन सकेनन् । त्यसपछि दुवै दलभित्र छुट्टाछुट्टै चुनाव लड्दा स्थानीय तहमा झन् ठूलो क्षति हुन सक्ने निष्कर्ष बलियो बन्दै गएको छ ।

दशैंअघि स्थानीय तह निर्वाचनको मिति घोषणा हुन सक्ने चर्चाबीच वाम दलहरूबीच तालमेलको आवश्यकता दुवै पक्षले महसुस गरेको स्रोतहरूको भनाइ छ ।

ओलीको राजनीतिक बाध्यता पनि एउटा कारण

एमालेभित्र पनि अध्यक्ष ओलीमाथि आन्तरिक दबाब तिव्र रहेको छ सचिवालयमा उनले नेतृत्व छाड्नु पर्ने पक्षहरुको वहुमत छ ।
पार्टीभित्र सबै पक्षलाई बेवास्ता गर्दै अघि बढ्न सक्ने अवस्था नरहेकाले पनि उनी अहिले लचिलो रणनीतिमा गएको एमालेकै नेताहरू बताउँछन् ।

एमालेका एक केन्द्रीय नेताका अनुसार प्रदेश सरकारमा हुने सहकार्य पार्टी एकताको  लागि प्रस्थानबिन्दु भएको बताउछन् ।  यो अन्तिम गन्तव्य होइन, तर त्यो त्यतातर्फ जाने एउटा महत्वपूर्ण प्रस्थान बिन्दु भने बन्न सक्छ उनले भने ।

हालसम्म दुवै दलले औपचारिक रूपमा कुनै निर्णय सार्वजनिक गरेका छैनन्। तर प्रदेश सरकारका बदलिँदा समीकरण, शीर्ष नेताहरूबीच बढ्दो संवाद र दुवै दलका दोस्रो तहका नेताहरूको सक्रियताले एमाले र नेकपा सम्बन्ध सुधारको दिशामा अघि बढिरहेका छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट