काठमाडौँ । सामाजिक सुरक्षा कोषमा एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ रुपैयाँ बराबरको योगदान रकम जम्मा भएको छ।
आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो। सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन्।
कोषका अनुसार सूचीकृत रोजगारदाताको सङ्ख्या २३ हजार ४९० पुगेको छ भने सूचीकृत योगदानकर्ताको सङ्ख्या ३० लाख ४३ हजार २०० पुगेको छ। कोषले हालसम्म २१ अर्ब २७ करोड एक लाख २० हजार २५२ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ।
यस्तै, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबीतर्फ तीन अर्ब ५२ करोड पाँच लाख ४७ हजार ४६२ रुपैयाँ उपलब्ध गराइएको छ। दुर्घटना तथा अशक्तता सुरक्षा दाबीतर्फ ३० करोड ४६ लाख छ हजार ५१४ रुपैयाँ, आश्रित परिवार सुरक्षा दाबीतर्फ ३८ करोड चार लाख २५ हजार २१६ रुपैयाँ र अवकाश दाबीतर्फ १७ अर्ब छ करोड ४५ लाख ४१ हजार ६१ रुपैयाँ बराबर रकम उपलब्ध गराइएको कोषले जनाएको छ।
कोषले आर्थिक वर्ष २०८३/८४ का लागि विभिन्न योजनामा प्रदान गरिने ब्याजदरसमेत निर्धारण गरेको छ। कोषका अनुसार वृद्धावस्था सुरक्षा योजनामा जम्मा गरिएको रकममा वार्षिक ३.२ प्रतिशत ब्याज प्रदान गरिनेछ। संस्थागत तथा व्यक्तिगत अवकाश कोषमा जम्मा भएको रकममा पनि वार्षिक ३.२ प्रतिशत ब्याजदर कायम गरिएको छ।
यस्तै, विशेष सापटीमा कोषले लिने ब्याज वार्षिक ४.७ प्रतिशत निर्धारण गरिएको छ। घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटीमा कोषले लिने ब्याजदर वार्षिक ५.५ प्रतिशत तथा घडेरी सापटीमा वार्षिक ५.७ प्रतिशत ब्याजदर कायम गरिएको छ। EMI भुक्तानीको म्याद नाघेको अवस्थामा कोषले लिने हर्जाना ब्याजदर वार्षिक ३ प्रतिशत निर्धारण गरिएको छ।
पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा समेटिएपछि योगदान रकम वृद्धि भएको हो। पेन्सन, औषधि उपचार तथा अन्य सामाजिक सुरक्षाका कार्यक्रमसमेत अगाडि बढाइएकाले कोषप्रति आम मानिसको चासो बढ्दै गएको पाइएको सामाजिक सुरक्षा काेषका प्रवक्ता कृष्ण अधिकारीले जानकारी दिए ।
उनका अनुसार कोषले विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानीसमेत सुरु गरेको छ। यसबाट सामाजिक सुरक्षा कोषको रकमको प्रभावकारी परिचालनसँगै बहुआयामिक लाभ हासिल हुने उनले बताए।
प्रतिक्रिया दिनुहोस