२०८३, श्रावण ५ गते

मंगलवार, श्रावण ५ गते २०८३

अरनिको यातायातमा आर्थिक अपारदर्शिताको आरोप : हिसाब नखुले बसपार्क शुल्क नतिर्ने व्यवसायीको चेतावनी

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं / राजधानी पूर्वका जिल्लामा सार्वजनिक यातायात सेवा सञ्चालन गर्दै आएको नेपाल अरनिको यातायात सेवा प्रालिभित्र आर्थिक अपारदर्शिता र अनियमितता भएको आरोप लगाउँदै शेयर सदस्य तथा व्यवसायीहरूले छानबिनको माग गरेका छन्। 

कम्पनीले आयोजना गरेको शेयर सदस्यहरूको अन्तरक्रिया कार्यक्रममै व्यवसायीहरूले आर्थिक कारोबार पारदर्शी नभएको भन्दै हिसाब सार्वजनिक गर्न व्यवस्थापनलाई कडा दबाब दिएका हुन् ।

कार्यक्रममा बोल्ने अधिकांश शेयर सदस्यले कम्पनीको सम्पत्ति व्यवस्थापन, बनेपास्थित जग्गा बिक्री, काठमाडौंको जडीबुटीमा निर्माण गरिएको बसपार्कको लगानी तथा सञ्चालनसँग सम्बन्धित आर्थिक विवरण सार्वजनिक नगरेसम्म व्यवस्थापनप्रति विश्वास गर्न नसकिने बताएका थिए।

छलफलका क्रममा प्रालिका निवर्तमान अध्यक्ष केदार क्षत्रीले कम्पनीभित्र कुनै आर्थिक अनियमितता नभएको दाबी गर्दै आफ्नो धारणा राख्न खोजेका थिए । तर हलमा उपस्थित व्यवसायीहरूले होहल्ला गरेपछि उनले आफ्नो भनाइ पूरा गर्न पाएनन्।

त्यसपछि क्षत्रीसहित पूर्व अध्यक्ष श्याम लामा लगायतका पूर्व पदाधिकारी कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।
व्यवसायीहरूले विशेषगरी जडीबुटीस्थित बसपार्क सञ्चालनबाट उठिरहेको रकमको हिसाब तीन वर्षसम्म पनि सार्वजनिक नगरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनीहरूले स्पष्ट हिसाब सार्वजनिक नभएसम्म बसपार्कलाई बुझाउँदै आएको शुल्कसमेत नतिर्ने चेतावनी दिएका छन् ।
व्यवसायी उद्धव गौतमका अनुसार बसपार्क सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि आम्दानी–खर्चको आधिकारिक विवरण शेयर सदस्यलाई उपलब्ध गराइएको छैन । गौतमले भने–‘बसपार्कको हिसाब पारदर्शी रूपमा सार्वजनिक नभएसम्म हामी कसैले पनि शुल्क तिर्दैनौं ।’ 

व्यवसायीहरूले बसपार्क निर्माणका लागि खरिद गरिएको जग्गामा समेत अनियमितता भएको आरोप लगाएका छन् । उनीहरूका अनुसार व्यक्तिबाट प्रतिआना करिब २ करोड ५० लाख रुपैयाँमा खरिद गरिएको जग्गा बसपार्कका नाममा पास गर्दा कृत्रिम रूपमा मूल्य बढाएर देखाइएको र त्यसबाट केही पदाधिकारीले कमिशन खाएको आशंका रहेको दाबी गरेका छन् । उनीहरूले यसबारे छानबिन हुनुपर्ने माग गरेका छन् ।

बढ्दो दबाबपछि प्रालिका वर्तमान अध्यक्ष विकासकाजी श्रेष्ठले एक साताभित्र कम्पनी र बसपार्क दुवैको सम्पूर्ण आर्थिक हिसाब सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए ।

 उनले तोकिएको समयभित्र हिसाब पारदर्शी बनाउन नसके आफू अध्यक्ष पदबाट समेत राजीनामा दिने घोषणा गरेका  थिए । त्यसपछि व्यवसायीहरूले व्यवस्थापनलाई थप एक साताको समय दिएका छन् ।

नेपाल अरनिको यातायात सेवा प्रालिले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुंगा लगायत राजधानीपूर्वका जिल्लामा लामो समयदेखि सार्वजनिक यातायात सेवा सञ्चालन गर्दै आएको छ। पछिल्लो समय काभ्रेको बनेपास्थित संस्थाको जग्गा बिक्री प्रकरणपछि कम्पनीभित्र विवाद चर्किएको हो।

उक्त जग्गा बिक्रीको निर्णयलाई लिएर पूर्व अध्यक्ष तथा संस्थाका पुराना व्यवसायीहरूले खुला विरोध जनाउँदै बिक्री प्रक्रिया गलत भएको आरोप लगाएका थिए। उनीहरूले जग्गा बिक्री गर्न नहुने र बिक्री प्रक्रियामा संलग्नलाई सार्वजनिक रूपमा बहिष्कार गर्ने चेतावनी दिएपछि तत्कालीन अध्यक्ष केदार क्षत्रीले पदबाट राजीनामा दिएका थिए।

जिल्ला प्रशासन कार्यालयले संस्थाको नाममा रहेको उक्त जग्गा बिक्री प्रक्रियालाई कानुनी रूपमा अघि नबढाउन निर्देशन समेत दिएको थियो ।

 यसअघि पनि अरनिकोको लगानी रहेको जडीबुटी बसपार्कको जग्गा खरिद, लगानी व्यवस्थापन तथा सञ्चालन खर्चबारे पटक–पटक प्रश्न उठ्दै आएको थियो ।

सम्बन्धीत समाचारहरु

अरनिको जग्गा बिक्री प्रकरण : पूर्व अध्यक्षहरूको दबाबपछि ब्याक भए क्षेत्री अरनिको जग्गा बिक्री प्रकरण : पूर्व अध्यक्षहरूको दबाबपछि ब्याक भए क्षेत्री

पूर्व अरनिको यातायातको जग्गा बिक्री विवाद : अध्यक्ष केदार क्षेत्रीले दिए राजीनामा पूर्व अरनिको यातायातको जग्गा बिक्री विवाद : अध्यक्ष केदार क्षेत्रीले दिए राजीनामा

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट