काठमाडौं / राजधानी पूर्वका जिल्लामा लामो समयदेखि सार्वजनिक यातायात सेवा सञ्चालन गर्दै आएको पूर्व अरनिको यातायात कम्पनी लिमिटेड (साविक पूर्व अरनिको यातायात सेवा समिति) का अध्यक्ष केदार क्षेत्री कम्पनीको जग्गा बिक्री प्रकरणमा विवादमा तानिएका छन्।
कम्पनीभित्र सहमति र आवश्यक प्रक्रिया पूरा नगरी जग्गा बिक्री गरेको आरोप लागेपछि चर्किएको विवादका बीच उनले अध्यक्ष पदबाट राजीनामा दिएका छन्।
पूर्व अरनिको यातायातको नाममा काभ्रेको बनेपामा करिब ५ रोपनी जग्गा रहेको छ। कम्पनीले काठमाडौंको कोटेश्वरमा बसपार्क निर्माणका क्रममा खरिद गरिएको जग्गाको करिब साढे दुई करोड रुपैयाँ अझै जग्गाधनीलाई तिर्न बाँकी रहेको बताइएको छ। उक्त दायित्व व्यवस्थापन गर्न बनेपाको जग्गा बिक्री गर्ने निर्णय कम्पनीले यसअघि गरेको थियो।
तर, कम्पनीलाई आर्थिक संकटका बेला सहयोग पुर्याउने उद्देश्यले खरिद गरेर राखिएको सम्पत्ति अध्यक्ष क्षेत्रीले सञ्चालक तथा व्यवसायीहरूको पर्याप्त सहमति बिना नै बिक्री प्रक्रिया अघि बढाएको आरोप पूर्व पदाधिकारीहरूले लगाएका छन्।
यही विषयमा बिहीबार बनेपामा अरनिको यातयातका पूर्व अध्यक्षहरूको भेला बसेको थियो। भेलाले कम्पनीको सम्पत्ति एकलौटी रूपमा बिक्री गर्न नमिल्ने निष्कर्ष निकाल्दै अध्यक्ष क्षेत्रीलाई सामाजिक बहिष्कार गर्ने निर्णयसमेत गरेका थिए ।
पूर्व अध्यक्षहरूको विरोध चर्किएपछि क्षेत्रीले सामाजिक सञ्जालमार्फत अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। उनले आफूमाथि पूर्व अध्यक्षहरूले गम्भीर आरोप लगाएको उल्लेख गर्दै ती आरोपको निष्पक्ष छानबिनका लागि नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिएको बताएका छन्।
कम्पनीका एक पूर्व अध्यक्षका अनुसार बनेपास्थित जग्गामध्ये १५ आना जग्गा नामसारी (पास) भइसकेको छ भने बाँकी जग्गाको नामसारी प्रक्रिया जारी छ। उक्त जग्गा सोही क्षेत्रमा पार्टी प्यालेस सञ्चालन गर्दै आएका व्यवसायी राजेन्द्र भालुले खरिद गरेका थिए ।
बनेपामा आयोजित भेलामा कम्पनीका पूर्व अध्यक्षहरू योगेन्द्रनाथ कर्माचार्य, हरिभक्त भोछिभिया, रामेश्वर श्रेष्ठ, पदमलाल श्रेष्ठ, रमेश वैद्य, जितबहादुर भारती र श्याम लामाको सहभागिता रहेको थियो।
केदार क्षेत्री पहिलो स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का तर्फबाट निर्वाचित भएका थिए। कार्यकाल सकिनुअघि नै उनले एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।
प्रतिक्रिया दिनुहोस