आइतवार , आषाढ ७, २०८३
Shares
Shares
मुगु । दुर्गम क्षेत्रको शैक्षिक विकासका लागि दृढ संकल्प, नेतृत्व क्षमता र निरन्तर मेहनत आवश्यक पर्छ। यस्तै उदाहरणीय कार्य गरिरहेका छन् मुगुको सोरु गाउँपालिका-५ स्थित श्री महादेव माध्यमिक विद्यालय, नेरका प्रधानाध्यापक धनऋषि शर्मा।
हुम्लाको ताँजाकोट गाउँपालिका-२ निवासी शर्मा शिक्षण पेशामार्फत समाज परिवर्तन गर्न सकिन्छ भन्ने विश्वासका साथ विगत एक दशकदेखि शिक्षा क्षेत्रमा सक्रिय छन्। उनले शिक्षण यात्राको सुरुवात २०७३ सालमा रुपन्देहीको सनफ्लावर इङ्ग्लिस बोर्डिङ स्कुलबाट गरेका थिए। त्यहाँ दुई वर्ष अध्यापन गरेपछि २०७५ सालदेखि रुपन्देही मोर्डन इङ्ग्लिस बोर्डिङ स्कुलमा चार वर्षसम्म शिक्षण गरे।
शैक्षिक सत्र २०७९ मा उनले रुपन्देही जिल्लाकै उत्कृष्ट विद्यालयमध्ये एक श्री सैनामैना पर्रोहा परमेश्वर नमूना माध्यमिक विद्यालयमा निम्न माध्यमिक तहका गणित शिक्षक तथा अतिरिक्त क्रियाकलाप संयोजकको जिम्मेवारी सम्हाले। नेपालकै शैक्षिक केन्द्रका रूपमा परिचित बुटवल क्षेत्रमा करिब सात वर्षको शिक्षण अनुभवले उनको पेशागत विकास, व्यक्तित्व निर्माण र नेतृत्व क्षमतामा महत्वपूर्ण योगदान पुर्याएको उनी बताउँछन्।
स्थायी शिक्षकबाट प्रधानाध्यापकसम्म
शिक्षक सेवा आयोगको २०७९ सालको विज्ञापनमार्फत मुगु जिल्लाबाट स्थायी शिक्षकमा नियुक्त भएका शर्मा २०७९ चैत २० गतेदेखि महादेव माध्यमिक विद्यालय, नेरमा कार्यरत छन्।
बुटवलजस्तो शैक्षिक रूपमा विकसित क्षेत्रबाट मुगुको दुर्गम गाउँमा पुग्दा विद्यालयको भौतिक पूर्वाधार कमजोर, जनशक्ति अभाव, विद्यार्थीको न्यून उपस्थिती तथा समुदायको विद्यालयप्रतिको कम चासो देखेर उनी चिन्तित बनेका थिए। तर ती समस्यालाई अवसरका रूपमा लिएर सुधारको अभियान सुरु गरे।
२५ वर्षकै उमेरमा २०८० असोज ७ गते विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हालेपछि उनले विद्यालय व्यवस्थापन समिति, शिक्षक-अभिभावक संघ, सोरु गाउँपालिका, विभिन्न सहयोगी संस्थाहरूको सहयोगमा विद्यालय सुधारका विभिन्न कार्यक्रम अघि बढाए।

विद्यालयमा उल्लेखनीय सुधार
प्रधानाध्यापक शर्माको नेतृत्वमा विद्यालयले पछिल्लो समय पूर्वाधार, शैक्षिक गुणस्तर तथा व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ।
विद्यालयमा माध्यमिक तह सञ्चालनको व्यवस्था गरिएको छ भने १२ कोठे दुईवटा पक्की भवन निर्माण सम्पन्न भएका छन्। विद्यालय परिसरमा घेराबार, शौचालय, खानेपानी धारा, आवश्यक फर्निचर, पुस्तकालय तथा विज्ञान प्रयोगशालाको व्यवस्था गरिएको छ।
विद्यालयले प्राप्त गर्ने बजेटको प्रभावकारी उपयोग गर्दै शिक्षक व्यवस्थापनमा सुधार ल्याइएको छ। विद्यार्थी तथा शिक्षकहरूको नियमित उपस्थितिमा वृद्धि भएको छ भने अतिरिक्त क्रियाकलापहरू नियमित सञ्चालन गरी उत्कृष्ट विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ।
परीक्षा प्रणालीलाई व्यवस्थित र मर्यादित बनाउनुका साथै नतिजा विश्लेषणको अभ्यास सुरु गरिएको छ। कक्षा १ देखि ३ सम्मको विषयगत मूल्याङ्कन प्रणाली पूर्ण रूपमा कार्यान्वयन गरिएको छ भने स्थानीय उत्पादनमा आधारित दिवा खाजाको व्यवस्था गरिएको छ।
खेलकुद क्षेत्रमा पनि सक्रिय भूमिका
शिक्षा क्षेत्रसँगै प्रधानाध्यापक शर्मा खेलकुद गतिविधिमा समेत सक्रिय रहँदै आएका छन्। उनले हुम्लाको ताँजाकोट गाउँपालिकामा तीन पटक र मुगुको सोरु गाउँपालिकामा एक पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मुख्य अम्पायरको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका छन्।
विद्यालय तहको खेलकुद विकास, विद्यार्थीहरूको प्रतिभा पहिचान तथा अनुशासन, नेतृत्व र प्रतिस्पर्धात्मक क्षमताको विकासमा खेलकुदको महत्वपूर्ण भूमिका रहने विश्वासका साथ उनी विभिन्न खेलकुद कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएका छन्। खेलकुद क्षेत्रको अनुभवले विद्यालयमा अतिरिक्त क्रियाकलापलाई प्रभावकारी रूपमा सञ्चालन गर्न समेत सहयोग पुगेको उनको भनाइ छ।
शिक्षा, नेतृत्व विकास तथा खेलकुद क्षेत्रलाई समान रूपमा अगाडि बढाउँदै आएका शर्माले दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक र खेलकुद दुवै क्षेत्रमा अवसर प्रदान गर्न निरन्तर प्रयास गरिरहेका छन्।

अभिभावकको विश्वास बढ्दै
विद्यालयप्रति अभिभावक तथा समुदायको चासो र विश्वास बढ्दै गएको विद्यालय प्रशासनको भनाइ छ। विगतमा विद्यालयलाई लिएर समुदायमा देखिने राजनीतिक विभाजन र विवादहरू अहिले न्यून बन्दै गएका छन्।
विद्यालय व्यवस्थापन समिति र शिक्षक-अभिभावक संघको सक्रियता बढेको छ भने विद्यार्थीहरूको सिकाइ उपलब्धिमा पनि विगतको तुलनामा उल्लेखनीय सुधार देखिएको छ।
पहिलो एसईईमै ८२ प्रतिशत नतिजा
जनशक्ति अभाव र भौगोलिक कठिनाइका बाबजुद विद्यालयले पहिलो पटक एसईई परीक्षामा सहभागी भई ८२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ। विद्यालयका लागि यो उपलब्धिलाई ऐतिहासिक मानिएको छ।
दुर्गममा बसेर पनि परिवर्तन सम्भव छ
प्रधानाध्यापक शर्मा दुर्गम क्षेत्रको विकासका लागि शिक्षालाई सबैभन्दा महत्वपूर्ण आधार मान्छन्। उनका अनुसार गुणस्तरीय शिक्षा, दक्ष जनशक्ति उत्पादन र समुदायको सक्रिय सहभागितामार्फत दुर्गम क्षेत्रको मुहार फेर्न सकिन्छ।
“दुर्गममा बसेर पनि केही गर्न सकिन्छ भन्ने विश्वासका साथ काम गरिरहेको छु,” शर्मा भन्छन्, “विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण गर्नु नै मेरो मुख्य लक्ष्य हो।”
दुर्गम क्षेत्रमा शिक्षा सुधार र समाज रूपान्तरणको अभियानमा समर्पित धनऋषि शर्माको नेतृत्वलाई स्थानीयवासी, अभिभावक तथा शिक्षा क्षेत्रमा सरोकार राख्ने व्यक्तिहरूले उदाहरणीय प्रयासका रूपमा लिएका छन्। महादेव माध्यमिक विद्यालयमा देखिएको परिवर्तनले दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरूमा पनि सकारात्मक सन्देश प्रवाह गरेको छ।
सम्पर्क : ०१- ४१०२६६४
समाचारको लागी इमेल :
[email protected]
विज्ञापनका लागि इमेल :
[email protected]
सुनौलो नेपाल अनलाइन प्रा. लि.
अनामनगर काठमाडौँ, नेपाल
सूचना विभाग दर्ता नम्बर: ५४३/०७४-७५
सम्पर्क : ०१- ४१०२६६४
विज्ञापनका लागि : ९८५१४२००७७, ९८५१४०३८९९
प्रतिक्रिया दिनुहोस