२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

हुम्ला–बाजुरा सीमा विवादको धक्का मुगुलाई : कर्णाली कोरिडोर बन्द हुँदा विकास निर्माण र ढुवानी ठप्प

शुक्रवार , जेठ २९, २०८३

सनत हमाल/ मुगु । छिमेकी जिल्लाहरू हुम्ला र बाजुराबीचको सीमा विवाद उत्कर्षमा पुग्दा त्यसको प्रत्यक्ष असर मुगु जिल्लामा पर्न थालेको छ । बाजुराको हिमाली युवा क्लबले कर्णाली कोरिडोर अनिश्चितकालका लागि बन्द गरेपछि मुगुको खत्याड र सोरु गाउँपालिकाका स्थानीय बासिन्दा मारमा परेका हुन् ।

कोरिडोर बन्द भएसँगै मुगुका यी दुई गाउँपालिकामा सवारी आवतजावत, दैनिक उपभोग्य सामग्री, खाद्यान्न, तरकारी तथा विकास निर्माणका पूर्वाधार सामग्री ढुवानीमा गम्भीर समस्या उत्पन्न भएको छ ।

के हो विवादको कारण ?

बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा प्रहरी चौकी स्थापना गर्ने विषयलाई लिएर हुम्ला र बाजुराका स्थानीयबीच विवाद सुरु भएको थियो । सोही घटनालाई लिएर वैशाख ८ गते हिमाली युवा क्लब, स्थानीय राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलबीच २४ घण्टाका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको थियो ।

तर, सहमति अनुसार मागहरू कार्यान्वयन नभएको र स्थानीयमाथि भएका चोरी, सिकारी, लुटपाट तथा तोडफोडका घटनाको निष्पक्ष छानबिन अघि नबढेको भन्दै जेठ १० गतेदेखि कर्णाली राजमार्ग (कोरिडोर) पूर्ण रूपमा बन्द गरिएको हो । आन्दोलनरत पक्षले घटनाको सत्यतथ्य छानबिन, दोषीलाई कारबाही, पीडितलाई क्षतिपूर्ति र घाइतेको उपचार खर्चको माग राखेका छन् ।

असार मसान्त नजिकिँदै गर्दा स्थानीय सरकार संकटमा

असार मसान्त नजिकिँदै गर्दा विकास बजेट खर्च गर्ने र आयोजनाहरू सम्पन्न गर्ने दबाबमा रहेका मुगुका दुई स्थानीय सरकार यस बन्दका कारण सबैभन्दा बढी प्रभावित भएका छन् ।

सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले अन्तरजिल्ला जोड्ने सडक बन्द हुँदा खाद्यान्न र तरकारी ढुवानी रोकिनुका साथै गाउँपालिकाको कामकाज र विकास निर्माणमा प्रत्यक्ष असर परेको बताए ।

त्यस्तै, खत्याड गाउँपालिकाका अध्यक्ष अज बहादुर शाहीले असार मसान्तको समयमा आयोजनाका कार्यहरू सम्पन्न गर्नुपर्ने भए पनि बन्दका कारण हार्डवेयरका सामान लगायत अन्य पूर्वाधारका सामग्री आयात गर्न नपाउँदा ठूलो समस्या खडा भएको जानकारी दिए ।

सडक खुलाउने प्रयास जारी

उता, बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले प्रहरी चौकी स्थापनाको विषयलाई लिएर दुई जिल्लाका स्थानीयबीच विवाद भएको स्वीकार गरे । उनले अनिश्चितकालीन सडक बन्दका कारण सर्वसाधारण नागरिकले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै अन्य घटनाहरूको कानुनी प्रक्रिया अघि बढिरहेको र बन्द सडक खुलाउने प्रयास भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट