काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लगानी बोर्डको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन आह्वान गरेको छ ।
‘सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५’ बमोजिम गठित सिफारिस समितिले योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो ।
सूचनाअनुसार आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ वा विकास सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
साथै, परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ वा औद्योगिक व्यवस्थापन क्षेत्रमा कम्तीमा १० वर्ष व्यवस्थापकीय तहको अनुभव भएको हुनुपर्ने सर्त राखिएको छ ।
आवेदकको उमेर निवेदन दिने अन्तिम मितिसम्म ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुक उम्मेदवारले बायोडाटा, शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्रसँगै आफ्नो रणनीति तथा कार्ययोजना पनि पेश गर्नुपर्नेछ ।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र इच्छुक व्यक्तिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सामाजिक तथा भौतिक पूर्वाधार विकास शाखामा आवेदन बुझाउन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस