काठमाडौं । टोले गुण्डागर्दीसम्बन्धी कसुरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाबाट एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ स्थायी घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–५ बस्दै आएका ३७ वर्षीय श्याम लामा भन्ने श्यामबहादुर तामाङ रहेका छन् ।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनलाई बिहीबार दिउँसो १२ बजे कागेश्वरी मनोहरा–५ स्थितबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार अनुसन्धानका क्रममा तामाङ यसअघि पनि विभिन्न आपराधिक घटनामा पक्राउ परेको विवरण खुलेको छ । उनी २०७० साउन ३० गते जिल्ला प्रहरी परिसर भक्तपुरबाट अपहरण तथा शरीर बन्धक मुद्दामा पक्राउ परेका थिए ।
तस्विर सौजन्य : नेपाल प्रहरी
त्यस्तै, २०७५ फागुन १९ गते इलाका प्रहरी कार्यालय मेलम्चीबाट अभद्र व्यवहारसम्बन्धी मुद्दामा तथा २०७९ फागुन ८ गते र २०८० साउन १७ गते प्रहरी वृत्त बौद्धबाट अभद्र व्यवहारसम्बन्धी मुद्दामा समेत पक्राउ परेको प्रहरी विवरणमा उल्लेख छ । हाल पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस