काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले सिर्सिया नदी कोरिडोरमा सञ्चालित उद्योगहरूले मापदण्डविपरीत फोहोर पानी नदी तथा खोलामा मिसाएर प्रदूषण फैलाएको पाइए कडा कारबाही गरिने चेतावनी दिएकी छन् ।
मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा सिर्सिया नदी क्षेत्रमा रहेका उद्योगबाट प्रशोधन नगरी फोहोर पानी नदीमा मिसाइएको भन्ने गुनासा, उजुरी र सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रचलित कानुनअनुसार उद्योगहरूले अनिवार्य रूपमा फोहोर पानी प्रशोधन प्रणाली जडान गरी सञ्चालन गर्नुपर्ने तथा वातावरणीय व्यवस्थापन योजना र नेपाल सरकारले तोकेको ‘इफ्लुएन्ट स्ट्यान्डर्ड’ पालना गर्नुपर्ने मन्त्रालयले स्मरण गराएको छ ।
मन्त्री यादवले नदी तथा खोला प्रदूषण मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएकाले वातावरणीय मापदण्ड उल्लंघन गर्ने कुनै पनि उद्योगलाई छुट नदिइने स्पष्ट पारेकी छन् ।
मन्त्रालयले सबै उद्योग प्रतिष्ठानलाई औद्योगिक तथा वातावरणीय कानुनको पूर्ण पालना गर्न आग्रह गर्दै मापदण्ड उल्लंघन गरेको पाइए उद्योग विभाग र सम्बन्धित निकायमार्फत कडा कानुनी कारबाही गरिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस