मकवानपुर । नेपाल बैंक लिमिटेड, बागमती प्रदेश तथा हेटौंडा सिटी अफिसको नवनिर्मित भवनको अर्थमन्त्री स्वर्णिम वाग्लेले उद्घाटन गरेका छन् । हेटौंडामा २०२५ सालदेखि सेवा सञ्चालन गरिरहेको बैंकको भवन जीर्ण हुँदै गएपछि करिब ४ करोड ७२ लाख रुपैयाँको लागतमा नयाँ भवन निर्माण गरिएको हो ।
नयाँ भवनबाट अत्याधुनिक डिजिटल प्रविधियुक्त सुविधासहित सेवाग्राहीलाई सेवा दिने बताइएको छ ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले हेटौंडा बजार क्षेत्रको सडक विस्तारको कामले बजार अस्तव्यस्त भएकोमा यसलाई निराकरणका लागि आग्रह गरेका थिए ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले नेपाल बैंकले तल्लो वर्गका किसान, व्यवसायीहरुको घरआँगनमा पुग्ने गरी नीति ल्याउन अर्थमन्त्री समक्ष ध्यानाकर्षण गराएकी थिइन् । उनले पूर्वपश्चिम राजमार्गको सिमानाको अन्योलका कारण स्थानीय जनताको प्रश्नमा जवाफविहिन बन्नु परेको गुनासो पनि उनले गरेकी थिइन् ।
नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेसहित कर्मचारी, सुरक्षा निकाय, बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो । विक्रम सम्वत १९९४ सालमा स्थापना भएको नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक पनि हो ।
प्रतिक्रिया दिनुहोस