• सुदृष्टी चापागाई
मानव जीवनको विकासक्रम हेर्दा थाहा हुन्छ कि मान्छेले सदैव आफूलाई बाकी जैविक प्राणीभन्दा भिन्न तरिकाले प्रस्तुत गरेको छ। उसले देखिने बाहेक नदेखिने कुराहरु पनि सिर्जना गरेको छ र ती नदेखिने कुराहरुको महत्व कहिलेकाहीं देखिने वा वास्तविक रुपमा चित्र कोर्न सकिने कुराभन्दा बढी जरुरी रहेको छ।
त्यस्तै कुरा हुन्: न्याय, कानुन, नैतिकता, समाज, स्वतन्त्रता, समता, कर्तव्य, अधिकार, हक, देशभक्ति, राष्ट्रप्रेम आदि। तर ती कुरा एकपटक सिर्जना भइसके, तिनलाई अब मेटाउन सम्भव छैन।
कानुन विषयको अध्ययन गर्नुलाई कानुनशास्त्र भनिन्छ। कानुनशास्त्रको भिन्न भिन्न सोचको विद्यालय उदाउनुको मुख्य कारण नै यहीं हो। घर, रुख, मान्छे आदि भन्दा चित्र कोर्न सम्भव हुन्छ, तसर्थ, खासै वादविवाद हुदैन। यद्यपि, कानुन के हो, न्याय के हो भन्दा चित्र कोर्न सम्भव हुदैन, तसर्थ, कानुन यस्तो हो भनी बुझाउन गरिएको कोसिस हो। यस्तै एक वादविवाद कानुनको समाजशास्त्रमा छ: "कानुनले समाज बदल्ने कि समाजले कानुन" भनेर।
अब तर्क जस्तो स्थानबाट पनि दिन मिल्छ भनेझै, यहाँ पनि दुवैतर्फ दिन मिल्ने तर्क छ। कानुनले समाज बदल्छ भन्ने कुराको तर्क यसप्रकार रहन्छ:
१) मीरा ढुंगानाको सम्पत्ति सम्बन्धी मुद्दामा विवाहित छोरीले पनि अंश हक पाउनुपर्छ भनी मुद्दा दायर भएको थियो। सरकारले निर्देशनात्मक आदेश जारी गर्दा अध्ययन गर्न पठाएको थियो। करिब २ दशक पछि संविधान र मुलुकी देवानी संहितामा छोरीले पनि समान हक पाउने कुरा लेखिएको छ , यस्सै नमानेमा अदालतमा मुद्दा दर्ता गर्न सकिन्छ। महिलाले सम्पत्ति र अर्थतन्त्रमा सहभागी हुन पाउने समाजको एक हिस्सा कानुनद्वारा पुरा हुन्छ। अर्थात, हाल कानुनले समाजमा केही फरक ल्याएको छ।
२) कानुनले मानव जीवनमा फरक ल्याउछ, म्याक्स वेवरले समाजमा व्यक्तिवादी कुराको अध्ययन गर्नु भएको छ। तसर्थ, व्यक्तिको रुपमा हुने समाजमा आउने परिवर्तन अध्ययन गर्दा पनि थाहा हुन्छ, कानुनले समाजमा फरक ल्याउँछ भनेर। यसैगरी समाजले कानुनमा परिवर्तन ल्याउछ भन्ने कुरा थाहा हुन यी आधारहरु छन्:
१) सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ मा ५१ जना भन्दा धेरै जन्ती लैजान नपाउने नियम छ, आजसम्म त्यो कानुनको कार्यन्वयन हुन सकेको छैन।
२) मीरा ढुंगानाको सम्पत्ति सम्बन्धी मुद्दामा नै फरक कुरा एकदिनमा नै ल्याउदा समाज उथुलपुथुल हुन्छ भनी स्वीकार गरिएको छ। तसर्थ, कानुनले समाजमात्र हैन,समाजले कानुन निर्धारण गर्छ।
अब यी दुई विवादमा समाज र कानुन बीच सम्बन्ध छ भन्ने कुरामा भने दुईमत नहोला। त्यसोभए, खासमा के हो? समाजले कानुन बदल्ने हो कि कानुनले समाज भन्ने कुरा भने सदैव रहने भयो।
यसमा सर हेनरी मेनको एन्सियन्ट ल भन्ने किताबको यो कुरा जरुरी रहला: ऐन कानुनहरु सदैव समाजभन्दा पछाडी नै हुन्छन किनभने समाज फेरिने प्रक्रिया सदैव जारी हुन्छ र कानुन बनाउन समय लाग्छ। तसर्थ, समाज र कानुन बीच फरक सदैव रहन्छ।
यसको एक उदाहरण डिम्ब व्यापारको मुद्दा हो। समाजमा डिम्ब व्यापार हुन थाल्छ भनी पूर्वअनुमान हुन सकेको थिएन। त्यसलाई अंग तस्करीको मुद्दा लगाउन परेको थियो। खासमा डिम्बलाई अंग भनिदैन। तर यसको मुद्दा चले अदालतले केही फरक व्याख्या भने गर्न सक्थ्यो। अदालतले सन्तुलन गराउने काम गर्न सक्थ्यो।
अब यो प्रश्नको जवाफ खोज्न एउटा कुरा याद गर्नु पर्छ- विद्यालय वा अन्त हुने वादविवाद प्रतियोगिताका विषयहरु यस प्रकार हुन्थे: धन ठुलो कि विद्या; हतियार बलियो कि कलम; बल ठुलो कि बुद्धि आदि। जिन्दगीमा यी दुवै विषय जरुरी छन्, जिन्दगीमा खास यी विषयको सन्तुलन आवश्यक हुन्छ।
यस्तै हो समाज र कानुन पनि। समाज र कानुनको यो फरकमा कहिले कानुनले समाजलाई परिवर्तन गर्न मद्दत गर्छ, कहिले समाजले कानुनलाई। आखिर जिन्दगी सन्तुलनकै अर्को नाम हो। तसर्थ, कानुन र समाज बीच सन्तुलित रुपमा एक अर्कालाई परिवर्तन गर्ने कर्तव्य छ।
प्रतिक्रिया दिनुहोस