काठमाडौं / नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ले वर्तमान सरकारले गरेका धेरै निर्णयहरू असहज र अस्वाभाविक ढंगले अघि बढिरहेको आरोप लगाएका छन् । अख्तियारका पदाधिकारीहरूप्रति गरिएको व्यवहार लगायत सरकारका विभिन्न गतिविधि उचित नभएको उनको भनाइ छ ।
पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै दाहालले आफू हाल स्वास्थ्य अवस्थाका कारण आराममा रहेकाले केही विषयबारे थप जानकारी लिन बाँकी रहेको बताए । उनले सरकारको कार्यशैली सन्तोषजनक नरहेको उल्लेख गर्दै सम्बन्धित विषयहरू संसद मा उठाउने पनि जानकारी दिए ।
अर्को प्रसङ्गमा उनले पार्टी नेतृत्वविरुद्ध नियोजित रूपमा भ्रम र विवाद सिर्जना गर्न खोजिएको दाबी गरे। पार्टीभित्र अनावश्यक विवाद उत्पन्न गर्ने तथा नेतृत्वमाथि प्रश्न उठाउने गतिविधि देखिएको उनको भनाइ थियो। दाहालको यो अभिव्यक्तिलाई पार्टीका वरिष्ठ नेता झलनाथ खनालले हालै नेतृत्वसमक्ष बुझाएको ३६ बुँदे दस्तावेजसँग जोडेर हेरिएको छ।
उनले केही कार्यकर्ता तथा नेताहरू पनि जानेर वा नजानेर निराशा फैलाउने गतिविधिमा संलग्न भइरहेको उल्लेख गर्दै त्यसप्रति सचेत रहन आग्रह गरे। कम्युनिष्ट आन्दोलनले विगतमा अनेक चुनौती र उतारचढाव पार गर्दै आफ्नो यात्रा अघि बढाएको स्मरण गराउँदै उनले अहिले पनि आत्मविश्वासका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस