२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

शुक्रवार , आषाढ ५, २०८३

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको माध्यम मात्र नभई समाजको सामूहिक स्मृति, सांस्कृतिक पहिचानको अभिव्यक्ति भएको बताएका छन् ।

आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह, २०८३’ मा उनले कुनै राष्ट्रलाई बुझ्न इतिहास अध्ययन मात्र पर्याप्त नहुने उल्लेख गर्दै त्यस देशका चलचित्र, संस्कृति र सामाजिक जीवनका विविध आयामलाई पनि हेर्नुपर्ने धारणा व्यक्त गरे ।

“चलचित्रले सम्बन्धित राष्ट्रको आत्मालाई अभिव्यक्त गरिरहेको हुन्छ, समाजको मनोविज्ञानलाई उजागर गरिरहेको हुन्छ र भविष्यको एउटा सम्भावित कल्पना पनि गरिरहेको हुन्छ,” सञ्चारमन्त्री तिमिल्सिनाले भने ।

उनले कलाकारहरू समाजकै सदस्य भए पनि सामान्य मानिसभन्दा बढी संवेदनशील दृष्टि भएका व्यक्तित्व भएको उल्लेख गर्दै कला र सिर्जनाले विभाजित समाजलाई मानवीय सम्बन्ध, सहअस्तित्व र संवेदनाको पाठ सिकाउने बताए ।

कलाकारलाई सम्मान गर्नु भनेको व्यक्तिलाई मात्र नभई समाजको सिर्जनशील चेतना र आफ्नै सांस्कृतिक अस्तित्वलाई सम्मान गर्नु भएको उनको भनाइ थियो ।

जीवनभर चलचित्र क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्दा आफूहरूले कलाकारलाई नभई आफ्नै समाज र संस्कृतिलाई सम्मान गरेको अनुभूति भएको उनले बताए । सञ्चारमन्त्री डा तिमिल्सिनाले कठिन परिस्थितिका बाबजुद नेपाली चलचित्र उद्योगले निरन्तर प्रगति गरिरहेको उल्लेख गरे ।

पुराना पुस्ताका चलचित्रकर्मीको अथक परिश्रमकै कारण नेपाली चलचित्र आजको अवस्थामा आइपुगेको उनले स्मरण गरे । उनले नेपाली चलचित्र क्षेत्रको अपेक्षाअनुसार समयसापेक्ष र व्यावहारिक चलचित्र ऐन ल्याउन सरकार प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे ।

WhatsApp Image 2026-06-19 at 3.51.59 PM (1).jpeg

“नयाँ चलचित्र ऐन समयसापेक्ष, व्यावहारिक र चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने खालको हुनुपर्छ । चलचित्र क्षेत्रले अपेक्षा गरेअनुसारको ऐन निर्माण गर्न सरकार प्रतिबद्ध छ, र म आज पुनः यही प्रतिबद्धता दोहोर्याउन चाहन्छु,” उनले भने ।

चलचित्र क्षेत्रका समस्या, चुनौती र अपेक्षाप्रति सरकार संवेदनशील रहेको बताउँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले चलचित्रकर्मीहरूसँग निरन्तर संवाद र छलफल गर्दै ती विषयहरूको समाधानका लागि आवश्यक कदम चाल्न सरकार तयार रहेको उल्लेख गरे ।

“सरकारको काम सिर्जनशील क्षेत्रलाई निर्देशन दिने वा नियन्त्रण गर्ने होइन, बरु त्यसको विकास र प्रवद्र्धनका लागि अनुकूल वातावरण निर्माण गर्नु हो”, उनले भने, “त्यो वातावरण ऐनमार्फत होस्, अन्य नीतिगत व्यवस्थामार्फत होस् वा सहजीकरणका विभिन्न संयन्त्रमार्फत होस, सरकार त्यसका लागि पूर्ण रूपमा तत्पर छ ।”

श्रेष्ठ सम्मानित

चलचित्र विकास बोर्डद्वारा प्रदान गरिँदै आएको दीर्घ साधना सम्मानबाट यसवर्ष अभिनेता मदनकृष्ण श्रेष्ठ सम्मानित भएका छन् । त्यस्तै, उत्कृष्ट चलचित्रका रुपमा ऊनको स्वीटर, उत्कृष्ट निर्देशक नवीन चौहान, उत्कृष्ट अभिनेता नीर शाह, उत्कृष्ट अभिनेत्री मिरुना मगर, उत्कृष्ट लेखक दीपकप्रसाद आचार्य र यम थापा तथा उत्कृष्ट आदिवासी चलचित्रका रुपमा इन्दिरा धिमे मैचा पुरस्कृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट