२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

जुम्लामा हराएका तीन बालकको सकुशल उद्धार, दुई रात एनसेलको टावरमुनि आश्रय

शुक्रवार , आषाढ ५, २०८३

जुम्ला । जुम्लाको सिँजा गाउँपालिका–२ अवस्थीबाडाबाट हराएका तीन बालकको दुई दिनपछि सकुशल उद्धार गरिएको छ । बालकहरु दुई रात एनसेल टावर मुनी आश्रय लिएर बसेको प्रहरीको भनाइ छ ।

विद्यालय जान भन्दै घरबाट निस्किएपछि बाटो बिराएर जङ्गलमा हराएका उनीहरूलाई स्थानीयवासी र प्रहरीको संयुक्त खोजीपछि जुम्ला–कालीकोट सिमानाको उच्च लेकाली क्षेत्रमा उद्धार गरिएको हो ।

फेला परेका बालकहरूमा खड्क खत्रीका ७ वर्षीय छोरा परिवर्तन विष्ट, पदम विष्टका ८ वर्षीय छोरा प्रशान्त खत्री र विष्णु रोकायका १२ वर्षीय छोरा विनोद रोकाय रहेका छन् । उनीहरू सोमबार काफल खान जङ्गलतर्फ गएको र पछि बाटो बिराएर घर फर्किन नसकेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घर नफर्किएपछि चिन्तित अभिभावक र स्थानीयवासीले विद्यालय, गाउँका बाटा, हिमा नदी किनार, नराकोट बजारलगायत क्षेत्रमा खोजी गरेका थिए । कुनै जानकारी नभएपछि इलाका प्रहरी कार्यालय नराकोटमा खबर गरिएको थियो ।

त्यसपछि प्रहरी नायब निरीक्षक कृष्णबहादुर बुढाको नेतृत्वमा टोली परिचालन गरिएको थियो । व्यापक खोजी अभियानका क्रममा जुम्ला–कालीकोट सिमानाको खेतीखर्क नजिकको उच्च लेकाली जङ्गल क्षेत्रमा उनीहरू फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय नराकोटका सहायक हवलदार तिलकप्रसाद उपाध्यायका अनुसार बालकहरू जंगलको भित्री भागमा हराएपछि दुई रात त्यहाँ रहेको एनसेल टावरमुनि बसेर समय बिताएका थिए । विद्यालय पोसाकमै रहेका उनीहरूलाई भेडीगोठालाले देखेपछि प्रहरीलाई जानकारी गराइएको थियो ।

वडाध्यक्ष तीर्थ वडका अनुसार स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासले बालकहरूलाई सुरक्षित उद्धार गर्न सफल भएको हो । उद्धारपछि उनीहरूलाई अभिभावकको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट