२०८३, आषाढ २ गते

मंगलवार, आषाढ २ गते २०८३

रास्वपाको पहिलो महाधिवेशन

बाहिर एकता , भित्र प्रश्न : रास्वपाभित्र को मौनताले के संकेत गर्छ ?

मंगलवार , आषाढ २, २०८३

रास्वपा सभापति रवि लामिछाने निकट मानिने प्रेस सल्लाहकार प्रमोद न्यौपानेले केही दिनअघि सामाजिक सञ्जालमा छोटो वाक्य लेखे— ‘ ढुक्क हुनुहोस यसरी चाँहि बन्दै– बन्दैन ।’ शब्द थोरै थिए, तर त्यसको अर्थलाई लिएर बहस लामो भयो, केही घण्टामै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहको अर्को प्रतिक्रिया आयो— ‘ढुक्क हुनुहोस्, बन्ने यसरी नै हो ।’

यी दुई वाक्य सार्वजनिक रूपमा सामान्य देखिए पनि राजनीतिक वृत्तमा यसलाई सामान्य रूपमा हेरिएन, कसैले यसलाई संकेत माने, कसैले सन्देश, कसैले संयोग भने, कसैले संवाद । पछि न्यौपानेले स्पष्टीकरण दिए— आफ्नो टिप्पणी सरकार वा वर्तमान सत्ता लक्षित थिएन, र होइन पनि ।

तर राजनीतिमा स्पष्टीकरणले सधैं बहस रोक्दैन, धेरैपटक बहसलाई अझ विस्तारित बनाउँछ, किनभने राजनीतिमा शब्दभन्दा शब्द पछाडिको समय, सम्बन्ध र सन्दर्भ बढी पढिन्छ । 

त्यसपछि एउटा प्रश्न उठ्न थाल्यो— के रास्वपाभित्र सबै कुरा बाहिर देखिएजस्तै सहज र समन्वित छ ?अहिले रास्वपा आफ्नो सबैभन्दा महत्वपूर्ण संगठनात्मक मोडमा छ, पहिलो पटक पार्टी अधिवेशनमार्फत नेतृत्व निर्माणको प्रक्रियामा गएको छ । जिल्ला अधिवेशनहरू सकिँदै छन्, प्रदेश अधिवेशन जारी छन्, यही प्रक्रियाले पार्टीको सांगठनिक संरचना मात्रै होइन, शक्ति–सन्तुलनको वास्तविक नक्सा पनि विस्तारै देखाउन थालेको छ ।

सार्वजनिक रूपमा नेताहरू एउटै लाइनमा देखिए पनि संगठनभित्र फरक सोच, फरक शैली र फरक शक्ति केन्द्रका संकेत देखिन थालेको चर्चा बढ्दै गएको छ ।  धेरै जिल्लामा नेतृत्व चयन प्रतिस्पर्धाविहीन रहेन, कतै समूहगत प्रतिस्पर्धा देखियो, कतै परिणामले अपेक्षा उल्टायो, कतै प्रक्रिया नै विवादमा अड्कियो, प्रदेश तहमा पुग्दा यो प्रतिस्पर्धा अझ स्पष्ट रूपमा सतहमा आउन थालेको चर्चा पार्टी वृत्तभित्र सुनिन थालेको छ । 

 रास्वपा अहिले त्यही संवेदनशील मोडमा उभिएको जस्तो देखिन्छ—जहाँ बाहिर एकताको तस्वीर छ, तर भित्र प्रश्नहरूको प्रतिध्वनि सुनिन थालेको छ । अहिले सबै कुरा नियन्त्रणमा देखिए पनि संगठनभित्र जमिरहेका जिज्ञासा, अपेक्षा र असन्तुष्टिलाई कसरी व्यवस्थापन गरिन्छ, त्यसले नै पार्टीको आगामी दिशा तय गर्नेछ ।

 

वागमती प्रदेश त्यसको एउटा उदाहरण बन्यो , निरन्तरताको अपेक्षा थियो, तर परिणामले नयाँ सन्देश दियो, मधेश प्रदेशमा चुनाव नै स्थगित भयो, अन्य प्रदेशहरूमा पनि नेतृत्व चयनले एउटै धार, एउटै दिशा र एउटै निर्णय केन्द्र मात्र छैन भन्ने संकेत दिएको देखियो । रास्वपाभित्र लामो समयदेखि एउटा अनौपचारिक बुझाइको चर्चा हुँदै आएको छ— एक पक्षले सरकार सञ्चालन गर्ने, अर्को पक्षले पार्टी सम्हाल्ने ।

यो वास्तविक सहमति हो कि राजनीतिक व्याख्या मात्रै, त्यो भित्रका नेताहरूले नै राम्रो जान्लान् । तर पछिल्ला घटनाक्रमले अर्को प्रश्नलाई बलियो बनाइरहेका छ, के सरकारको प्रभाव पार्टीभित्र बढ्दै गएको हो ? कि पार्टीभित्रको असन्तुष्टि सरकारसम्म पुग्न थालेको हो ? सरकार सञ्चालन, मन्त्रीहरूको कार्यशैली, सार्वजनिक अभिव्यक्ति र निर्णय प्रक्रियालाई लिएर पार्टीभित्र फरक–फरक स्वर सुनिन थालेको चर्चा छ , कतिपय मन्त्रीको कामको प्रशंसा छ, कतिपय अभिव्यक्तिमाथि असन्तुष्टि पनि ।

तर अझ रोचक पक्ष के देखिन्छ भने— असन्तुष्टि छ भन्ने चर्चा धेरै छ, तर त्यो खुलेर व्यक्त भएको कम देखिन्छ । संसदमा होस् वा सार्वजनिक मञ्चमा, प्रधानमन्त्रीप्रति रास्वपाका नेताहरू संयमित देखिन्छन् , यो संगठनात्मक अनुशासन हो, रणनीतिक धैर्यता हो, वा असहज मौनता— त्यसको उत्तर समयले दिनेछ ।

राजनीतिक इतिहासले बारम्बार देखाएको एउटा सत्य के हो भने— दलहरू धेरैपटक बाहिरबाट बलिया देखिन्छन्, तर भित्रका दरारहरू विस्तारै गहिरिँदै जान्छन् र कहिलेकाहीँ राजनीतिक परिवर्तन विरोधले होइन, लामो समयसम्म दबिएको मौनताले ल्याउँछ । 

रास्वपा अहिले त्यही संवेदनशील मोडमा उभिएको जस्तो देखिन्छ—जहाँ बाहिर एकताको तस्वीर छ, तर भित्र प्रश्नहरूको प्रतिध्वनि सुनिन थालेको छ । अहिले सबै कुरा नियन्त्रणमा देखिए पनि संगठनभित्र जमिरहेका जिज्ञासा, अपेक्षा र असन्तुष्टिलाई कसरी व्यवस्थापन गरिन्छ, त्यसले नै पार्टीको आगामी दिशा तय गर्नेछ ।  किनकि राजनीतिमा कहिलेकाहीँ सबैभन्दा ठूलो आवाज बोल्नेहरूको हुँदैन— लामो समयसम्म नबोल्नेहरूको हुन्छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट