काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोषअन्तर्गत सहभागीहरूलाई प्रदान गरिने सापटी तथा ऋण सुविधालाई थप सहज बनाउने उद्देश्यले ‘कर्मचारी बचत वृद्धि अवकाश कोष सञ्चालन कार्यविधि, २०८०’ मा संशोधन गरेको छ ।
कोष सञ्चालक समितिको निर्णयअनुसार गरिएको परिमार्जनपछि सापटी सुविधा प्राप्त गर्ने अवधि, सापटी लिने संख्या तथा निष्क्रिय खाताको व्यवस्थापनसम्बन्धी प्रावधानमा परिवर्तन गरिएको हो । नयाँ व्यवस्थाअनुसार अब कर्मचारीहरू कोषमा सहभागी भएको ६ महिना पूरा भएपछि नै सापटीका लागि योग्य हुनेछन् ।
यसअघि सापटी सुविधा लिन कम्तीमा एक वर्ष सहभागी भएको हुनुपर्ने व्यवस्था थियो । त्यसैगरी, सहभागीहरूले अब एक आर्थिक वर्षमा चार पटकसम्म सापटी वा ऋण सुविधा लिन सक्नेछन्। यसअघि एक आर्थिक वर्षमा बढीमा दुई पटक मात्र सापटी लिन पाइने व्यवस्था थियो ।
कोषले निष्क्रिय खाताको व्यवस्थापनलाई पनि थप व्यवस्थित बनाएको छ । नयाँ व्यवस्थाअनुसार कुनै सहभागीले रकम जम्मा गर्न छाडेको सात वर्ष पुगेमा वा जम्मा भएको रकमले सापटी रकम धान्न नसक्ने अवस्था आएमा कोषले हिसाब मिलान गरी खाता बन्द गर्न सक्नेछ । यसअघि यस्तो खाता बन्द गर्न १० वर्षसम्म प्रतीक्षा गर्नुपर्ने व्यवस्था थियो ।
नागरिक लगानी कोषकी सहायक निर्देशक रीता पाठकले संशोधित कार्यविधिका महत्वपूर्ण व्यवस्थाहरू तत्काल कार्यान्वयनमा ल्याइएको जानकारी दिइन । उनका अनुसार सम्पूर्ण शाखा कार्यालय तथा मातहतका कर्मचारीलाई सोहीअनुसार सेवा प्रवाह गर्न निर्देशन दिइसकिए छ ।
उनका अनुसार नयाँ व्यवस्थाले सेवाग्राही तथा सहभागी कर्मचारीहरूलाई सापटी र ऋण सुविधा प्राप्त गर्न थप सहजता प्रदान गर्नेछ । कोषले आफ्ना सबै शाखालाई परिमार्जित कार्यविधि प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा सहभागीहरूलाई नयाँ व्यवस्थाबारे जानकारी गराउन निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस