२०८३, श्रावण ५ गते

मंगलवार, श्रावण ५ गते २०८३

विश्वकप फाइनल हेर्ने क्रममा सामूहिक झडप : भक्तपुरमा एक युवकको मृत्यु, १८ जना पक्राउ

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडास्थित एक होटलमा विश्वकप फुटबलको फाइनल खेल हेर्ने क्रममा भएको सामूहिक झडपमा एक युवकको मृत्यु भएको छ । 

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दिपक कार्कीका अनुसार मृत्यु हुनेमा बर्दिया स्थायी घर भई हाल भक्तपुरको सल्लाघारी बस्दै आएका करिब २७ वर्षीय राज कार्की रहेका छन् ।

प्रहरीका अनुसार साउन ४ गते बिहान राज कार्की आफ्ना साथीहरूसँग घ्याम्पेडाँडास्थित थ्री इडिएट्स होटलमा विश्वकप फुटबलको फाइनल खेल हेर्न पुगेका थिए ।


 खेल हेरिरहेका बेला होटलभित्र रहेका विभिन्न समूहबीच सामान्य विवाद सुरु भएको थियो। उक्त विवाद केहीबेरमै उग्र बन्दै सामूहिक कुटाकुटमा परिणत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दीपक कार्कीले जानकारी दिए।

उनका अनुसार घटनाका बेला होटलमा चारदेखि पाँचवटा समूह उपस्थित थिए। डीएसपी कार्कीले भने–‘कुन समूहको कससँग विवाद भयो र झडप कसरी सुरु भयो भन्ने विषय अनुसन्धानपछि मात्रै स्पष्ट हुन्छ ।’

सामूहिक कुटपिटका क्रममा गम्भीर घाइते भएका राज कार्कीलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनापछि प्रहरीले सुनिल तामाङसहित १८ जनालाई पक्राउ गरेको छ। उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा भक्तपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


मृतक कार्कीको शव पोस्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको छ। प्रहरीका अनुसार उनको शरीरमा बाहिरी रूपमा गम्भीर चोटपटक स्पष्ट नदेखिएकाले मृत्युको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन आएपछि मात्रै खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट