२०८३, श्रावण ५ गते

मंगलवार, श्रावण ५ गते २०८३

एउटै मिशन लिएर अघि बढे सफलता प्राप्त हुन्छ : मन्त्री महतो

मंगलवार , श्रावण ५, २०८३

विराटनगर । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामप्रसाद महतोले महिला, बालबालिका तथा अपाङ्गता क्षेत्रका कार्यक्रम प्रभावकारी बनाउन प्रदेश सरकार र स्थानीय तह एउटै मिशनका साथ अघि बढ्नुपर्ने बताएका छन् । 

कोशी प्रदेशका १३७ वटै स्थानीय तहका महिला तथा बालबालिका शाखा प्रमुख सहभागी प्रदेशस्तरीय सम्मेलनको उद्घाटन गर्दै मन्त्री महतोले एउटै उद्देश्य र मिशन लिएर अघि बढे सफलता प्राप्त गर्न सकिने बताए । प्रदेश सरकारबाट स्थानीय तहमा पठाइएका कार्यक्रम तथा बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी स्थानीय तहको रहेको उनको भनाइ थियो ।

मन्त्री महतोले प्रदेश सरकारले महिला, बालबालिका तथा अपाङ्गता क्षेत्रका लागि उत्कृष्ट कार्यक्रम ल्याएको दाबी गर्दै स्थानीय तहले पनि ती कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न सके अपेक्षित उपलब्धि हासिल हुने बताए । “प्रदेश र स्थानीय तहबीच समन्वय गरेर एउटै मिशनका साथ अघि बढे मात्र कार्यक्रमको प्रभावकारी परिणाम देखिन्छ,” उनले भने । 

751783728_1018105711212043_5471472230040781198_n.jpg

सामाजिक विकास मन्त्रालयका सचिव उद्धवप्रसाद रिजालले प्रदेश सरकारबाट वित्तीय हस्तान्तरणमार्फत स्थानीय तहमा पठाइएका बजेट तथा कार्यक्रमको समीक्षा प्रक्रियालाई निरन्तरता दिइने बताए । चालु वर्ष निर्वाचनको वर्षसमेत भएकाले बालबालिकाको प्रयोग तथा उनीहरूमाथि हुने हिंसा रोक्न अहिलेदेखि नै आवश्यक कार्ययोजना बनाएर अघि बढ्नुपर्ने उनले बताए । 

प्रदेश सरकारका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता क्षेत्रका अधिकांश कार्यक्रम स्थानीय तहबाट, विशेषगरी महिला तथा बालबालिका शाखामार्फत कार्यान्वयन हुने भएकाले कार्यक्रमलाई थप प्रभावकारी बनाउन सम्मेलन आयोजना गरिएको मन्त्रालयले जनाएको छ । 

सामाजिक विकास मन्त्रालयकी सामाजिक महाशाखा प्रमुख दुर्गा बरालले पहिलो सम्मेलनको समीक्षा गर्दै दोस्रो प्रदेशस्तरीय सम्मेलन आयोजना गरिएको बताइन् । प्रदेश सरकारले स्थानीय तहमा पठाएको बजेट तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन होस् भन्ने सम्मेलनको मुख्य उद्देश्य रहेको उनले बताइन् । 

उनले चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकारले स्थानीय तहमा पठाएका बजेट तथा कार्यक्रमबारे जानकारी गराउँदै खर्च गर्ने रकम लक्षित वर्गसम्म पुर्याएर प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । 

शैक्षिक अनुसन्धान महाशाखा प्रमुख लक्ष्मी न्यौपानेले शिक्षासँग सम्बन्धित महिला तथा बालबालिका लक्षित बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा सम्बन्धित शिक्षा शाखासँग समन्वय गर्नुपर्ने बताइन् । सबै सरोकारवाला निकायसँग समन्वय गरेर काम गर्दा कार्यक्रमको नतिजा अझ प्रभावकारी हुने उनको भनाइ थियो । 

749354277_1597450241809620_3247600519474669218_n.jpg

युनएफपीएका जेसी फोकल पर्सन समीरराज घिमिरेले यौनजन्य हिंसाका घटना कोशी प्रदेशमा उच्च रहेको तथ्यांक सार्वजनिक भइरहेका बेला हिंसा न्यूनीकरणका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए । बालबालिका हिंसाको सबैभन्दा बढी जोखिममा पर्ने समूह भएकाले प्रदेश सरकार र स्थानीय तहले सञ्चालन गरिरहेका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने उनले बताए । 

मंगलबार र बुधबार सञ्चालन हुने सम्मेलनमा नेपालको जेसीसम्बन्धी नीतिगत तथा कानुनी मार्गचित्र, वर्तमान अवस्था, चुनौती र साझा बुझाइ, संघीय सरकारको बजेट तथा कार्यक्रम, प्रदेश सरकारको बजेट तथा कार्यक्रम, स्थानीय तहका नवीनतम अभ्यास, अन्तरसरकार समन्वय तथा ऐन–नियमावलीसम्बन्धी तयारी र अभ्यासलगायत विषयमा छलफल हुने जनाइएको छ ।

सम्मेलन युनएफपीएको सहयोगमा कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको हो । सम्मेलन भोली समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट