काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा प्रधानमन्त्रीका विश्वासपात्र मानिएका राजु पाण्डेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन्।
जापान भ्रमणका क्रममा रास्वपाप्रति लक्षित गर्दै सांसद शाहीले अपशब्द प्रयोग गरेको भन्दै पाण्डेले त्यसको प्रतिउत्तर दिएका हुन्। उनले लोकतान्त्रिक गणतन्त्र नेपालको व्यवस्था जनताको संघर्ष र बलिदानबाट स्थापित भएको उल्लेख गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिले अभिव्यक्ति दिँदा पदको गरिमा र मर्यादाको ख्याल गर्नुपर्ने बताएका छन्।
पाण्डेले आफ्नो पोस्टमा लेखेका छन्, ‘प्रिय माननीय ज्ञानेन्द्र शाहीज्यू, बोल्नु भन्दा अगाडि आफ्नो पद र मर्यादाको ख्याल गर्नु होला है, नेपाल जनताको संघर्ष र बलिदानबाट बनेको लोकतान्त्रिक गणतन्त्र हो। विचार राख्ने अधिकार सबैलाई छ, तर देशको शान्ति, स्थिरता र जनताको निर्णयको सम्मान गर्नु सबैको जिम्मेवारी हो ।’
रास्वपा र राप्रपाबीच पछिल्लो समय राजनीतिक आरोप–प्रत्यारोप चुलिँदै गएका बेला शाही र पाण्डेबीचको यो सार्वजनिक वाकयुद्धले सामाजिक सञ्जालमा समेत व्यापक चर्चा पाएको छ ।
प्रतिक्रिया दिनुहोस