काठमाडौं। नेपाली परम्परा, मौलिक स्वाद र सांस्कृतिक मनोरञ्जनलाई एउटै अनुभवमा समेट्दै डिल्लीबजार हाइटस्थित भोजन गृहले श्रावण महिनाका अवसरमा विशेष सांस्कृतिक साँझको घोषणा गरेको छ। यस योजनाअन्तर्गत नियमित रूपमा प्रतिव्यक्ति रु. ४,५०० पर्ने भोजन तथा सांस्कृतिक कार्यक्रम अब श्रावणभर रु. २,९०० मै उपलब्ध हुने भएको छ।
करिब १५० वर्ष पुरानो ऐतिहासिक सम्पदा भवनमा सञ्चालन भइरहेको भोजन गृह कुनै समय नेपालका तत्कालीन राजपुरोहितको निवास रहेको भवन हो। मौलिक स्वरूप र परम्परागत नेपाली वास्तुकलालाई संरक्षण गर्दै पुनर्निर्माण गरिएको यस भवनले आगन्तुकलाई नेपाली इतिहास, संस्कृति र आतिथ्यको विशेष अनुभव प्रदान गर्दै आएको छ।
भोजन गृहमा आउने पाहुनाले मौलिक नेपाली तथा नेवारी परिकारको स्वाद लिनुका साथै विभिन्न जातीय समुदायका परम्परागत लोकनृत्य र सांस्कृतिक संगीतको प्रत्यक्ष प्रस्तुति अवलोकन गर्न सक्नेछन्। परम्परागत नेपाली आतिथ्य, आत्मीय वातावरण र जीवन्त सांस्कृतिक प्रस्तुतिका कारण यहाँको सांस्कृतिक साँझ परिवार, साथीभाइ, पर्यटक तथा समूहगत कार्यक्रमका लागि आकर्षक गन्तव्य मानिन्छ।
भोजन तयार गर्न स्थानीय उत्पादन तथा आफ्नै फार्मबाट प्राप्त सामग्री प्रयोग गरिने भोजन गृहले जनाएको छ। यसले परिकारको मौलिक स्वादलाई जोगाउनुका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ।
भोजन गृहका अनुसार श्रावण विशेष अफरमार्फत आगन्तुकलाई परिकारमा मौलिकपन, वातावरणमा अपनत्व र प्रत्येक क्षणमा नेपाली संस्कृतिको जीवन्त अनुभूति प्रदान गर्ने लक्ष्य राखिएको छ। सीमित सिट उपलब्ध भएकाले इच्छुक पाहुनालाई अग्रिम बुकिङ गर्न पनि अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस