काठमाडौं । बिहान अरुले हातमुख धुँदैगर्दा हर्क विक दुई हजारको व्यापार गरिसक्छन् । घरघरमा पुगेर ग्राहकलाई दूध पुर्याएर उनी कर्मस्थल फर्किन्छन् । बुढानीलकण्ठ–६ मा गाईपालन र तरकारीखेती एकसाथ गरेका अछामका ३३ वर्षे विकलाई कृषि पेशा निकै फापेको छ ।
राजनीतिक र सामाजिक कार्यसमेतमा सक्रिय विकलाई मेहनत गर्नेलाई अर्थोपार्जन गर्न विदेश जानुपर्दैन भन्ने लाग्छ । एक वर्षदेखि उनीले बुढानीलकण्ठमा पाँच रोपनी जमिन भाडामा लिएर ६ वटा गाईसँगै तरकारी खेती पनि गरिरहेका छन् । गाइपालनमा प्रशस्त आम्दानी हुने भएकाले उनले परिवारसमेतलाई यही पेशामा आबद्ध गराएका छन् । सरकारी जागिरे उनकी श्रीमतीले जागीरै छोडेर विकको कृषि कार्यमा साथ दिनु थालेकी छन् । “गाउँका बेरोजगार र विदेश पलायन हुनथालेका युवालाई आफ्नै कृषि फार्ममा रोजगार दिएकोछु,” विकले भने, “स्वदेशमा परिश्रम गरे आम्दानी गर्न कठिन छैन ।”
कृषि बजारमा थुप्रै सम्भावना छन् । बिचौलियाले किसान र उपभोक्तालाई ठगेका उनको गुनासो छ । यो बेथितिदेखि जोगीन विकले आफ्नै डेरीसमेत सञ्चालन गर्ने योजना बनाएको सुनाए । मल्टिभिजन एग्रोप्रडक्सन एण्ड सप्लायर नामको कम्पनी स्थापना गरेर उनले आफ्नै लगानीमा कृषिकर्म थालेका हुन् ।
दोलखाका निकेश श्रेष्ठ अर्का उदाहरणीय युवा उद्यमी हुन् । श्रवण क्षमता कम भएका उनी कम्प्युटर इञ्जिनियर हुन् । विदेश जाने सोचमा रहेका उनी आमाबुबाको सपना साकार पार्नेतर्फ लागे । नौ महिनादेखि उनले राजधानीमा ‘कफीसप’ सञ्चालन गरेर श्रवणशक्ति नभएकाहरुले पनि समाजमा केही गर्न सक्छन्भन्ने गतिलो दृष्टान्त प्रस्तुत गरेका छन् ।
उद्यमी श्रेष्ठकी आमा सरुनाले उनलाई भाषामा र व्यवसायमा सघाउछिन् । “साथीहरू र आमाबुबाको उत्साहले कफीसप खोल्ने आँट गरेको हुँ”, श्रेष्ठ भनिन्, स्वदेशमा उद्यमी बनेर ठिकै गरेछु जस्तो लाग्छ ।”
महाराजगन्ज चक्रपथ घर भएका ३६ वर्षे विराज खड्काका ‘आई एम द गार्डेन र खड्का नर्सरी’ प्रमुख उद्यमस्थल हुन् । आमाले परम्परागत रूपमा सुरु गरेको नर्सरी व्यापारलाई उनले आधुनिकीकरण गरेका छन् । सन् २०१२ मा उच्च शिक्षाका निम्ति बेलायत बेलायत गएका उनी आमालाई व्यवसायमा सघाउन स्वदेश फर्किए ।
जिज्ञासु स्वभावका खड्काले एक दिन आमाले नर्सरीमा व्यापार गरिरहेको नियाली रहे । आमाले विरुवा हुर्काउन गरेको सङ्घर्षले उनलाई प्रेरणा मिल्यो । आमाको उद्यम फस्टाएको थिएन तर उनले काम भने जारी नै राखेकी थिइन् । आमालाई सघाउन दृढ निश्चय गरेर तीन रोपनीमा सुरु गरेको नर्सरी अहिले २० रोपनीमा विस्तार भएको छ । एक लाख २० हजारका बेर्ना प्रत्येक महिना उत्पादन भए जुन चितवन, पोखरा, विराटनगर, झापा, धरान, भैरवाह, बुटवल, दाङलगायत सहरमा बिक्री हुने गरेका छन् । “यो व्यवसाय भनेको आजै रोपेर भोलि फल पाइहाल्छु भन्ने होइन,” उनले भने, “व्यापारमा सफलता हालिस गर्न धैर्य आवश्यक छ ।”