पोखरा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गण्डकी प्रदेशका कांग्रेसका नेताहरूसँग ११ जिल्लाको १८ वटा निर्वाचन क्षेत्रको अवस्थाका बारेमा छलफल गरेका छन् ।
फागुन २१ गते हुनगइरहेको प्रतिनिधिसभाको निर्वाचनमा पार्टीका सबै उम्मेदवारहरूलाई जिताउन गर्नुपर्ने गृहकार्यका बारेमा सूक्ष्म तरिकाले छलफल भएको नेताहरुले बताएका छन् ।
कांग्रेस नेता तथा गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीका अनुसार सो छलफलमा पार्टीले उठाएका प्रतिनिधिसभाको उम्मेदवार, उम्मेदवारको अवस्था, अन्य नेता कार्यकर्ताको भुमिका र आवश्यक रणनीति बारे छलफल भएको थियो ।
पार्टी भित्र रहेका केही असन्तुष्टिहरूलाई पनि छलफलबाट पूर्णरुपमा समाधान गरिएको उनको भनाइ छ । छलफलपछि पार्टीका सबै नेताहरूमा ऊर्जा थपिएको र एक ढिक्का भएर चुनावमा होमिने वातावरण बनेको नेता सुवेदीले जानकारी दिए ।
सभापति थापाले यसअघि मधेस प्रदेशका ८ जिल्लाका नेता कार्यकर्तासँग जनकपुरमा छलफल गरेका थिए भने आवश्यकता अनुसार अन्य प्रदेशमा पनि पार्टीका नेता कार्यकर्तासँग चुनावी छलफल गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस