मुगु । देशभर मतगणना सुरु भइसकेको छ, धेरै ठाउँमा प्रारम्भिक नतिजासमेत सार्वजनिक भइसकेका छन्। तर हिमाली जिल्ला मुगुमा भने अझै पनि सबै मतपेटिका सदरमुकाम सम्म पुग्न सकेका छैनन्।
जिल्लामा रहेका १ वटा अस्थाई र ६९ वटा मतदान केन्द्रमध्ये ६८ मतदान केन्द्रका मतपेटिका मात्र आइपुगेका छन्। मुगुम कार्मारोङ गाउँपालिकाका मुगु गाउँ मतदान केन्द्र र डोल्फू मतदान केन्द्रका मतपेटिका अझै आइपुग्न बाँकी रहेको मुख्य निर्वाचनको अधिकृतको कार्यालयले जनाएको छ।
देशभर परिणाम सार्वजनिक भइरहँदा मुगुमा भने मतपेटिका नै सदरमुकाम नपुग्नुले निर्वाचन व्यवस्थापनको तयारी र पूर्वतयारीमाथि प्रश्न उठ्न थालेको छ। दुर्गम भौगोलिक अवस्थालाई कारण देखाइए पनि प्रत्येक निर्वाचनमा दोहोरिने यस्तो ढिलाइले स्थानीय मतदातामा असन्तुष्टि बढाएको छ।
मतदाताले समयमै मतदान गरेर आफ्नो अधिकार प्रयोग गरे पनि मतपेटिका ढुवानी र व्यवस्थापनमा हुने ढिलाइले मुगु सधैं परिणाम सार्वजनिक गर्ने मामिलामा पछि पर्ने गरेको छ।
अब बाँकी रहेका दुई मतदान केन्द्रका मतपेटिका कहिले सदरमुकाम पुग्छन् र मतगणना कहिले सुरु हुन्छ भन्ने विषयमा सबैको चासो केन्द्रित भएको छ।
प्रतिक्रिया दिनुहोस