अमेरिका । अमेरिकामा बसोबास गर्ने नेपाली महिलाहरूले ११५औँ अन्तर्राष्ट्रिय नारी दिवस उत्साह र भव्यताका साथ मनाएका छन् । अमेरिकाको एप्पलटन सहरमा नारी दिवसको अवसर पारेर पुनम खनालको आयोजनामा विशेष कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा स्थानीय क्षेत्रमा बसोबास गर्ने नेपाली महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी महिलाहरूले नारी अधिकार, सशक्तीकरण तथा सामाजिक भूमिकाबारे छलफल गर्दै दिवसलाई उत्साहपूर्ण वातावरणमा मनाएका थिए ।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा डा. शान्ति तिमिल्सिनाले मानसिक स्वास्थ्यसम्बन्धी प्रशिक्षण प्रदान गरेकी थिइन् । उनले महिलाहरूको मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, आत्मविश्वास वृद्धि तथा स्वस्थ जीवनशैलीबारे महत्वपूर्ण जानकारी दिइन् । प्रशिक्षणका क्रममा सहभागी महिलाहरूले विभिन्न जिज्ञासा राख्दै अन्तरक्रियात्मक रूपमा सहभागिता जनाएका थिए ।
कार्यक्रममा उपस्थित महिलाहरूले विदेशमा रहेर पनि नेपाली समाज र संस्कृतिसँग जोडिँदै यस्ता कार्यक्रमले आपसी सम्बन्ध बलियो बनाउनुका साथै महिलाहरूको सशक्तीकरणमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।
आयोजक पुनम खनाल, राधिका भण्डारी र इन्दिरा अधिकारी खड्काले महिलाहरूलाई एकै ठाउँमा भेला गराई अनुभव आदानप्रदान गर्ने र स्वास्थ्य तथा सचेतनासम्बन्धी जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जानकारी दिइन् ।
अमेरिकाबाट लक्की रिजालका अनुसार कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको थियो। सहभागीहरूले कार्यक्रमले महिलाहरूलाई प्रेरणा र हौसला प्रदान गरेको प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया दिनुहोस