काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
बुधबार सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ तय भएको हो। यसअघि सोमबार पेशी तोकिए पनि अदालतले हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो।
महान्यायाधिवक्ता कार्यालयले मुद्दा फिर्ता लिने निर्णय गरेको भन्दै त्यसविरुद्ध युवराज पौडेल (सफल), अधिवक्ता आभाष रेग्मी, कानुनका केही विद्यार्थी तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
गत पुस ३० गते महान्यायाधिवक्ता सबिता भण्डारीले लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन स्वीकृति दिएकी थिइन्। सो निर्णयपछि मुद्दा सम्बन्धित जिल्ला अदालतमा पेश हुने प्रक्रिया रहेको छ।
तर सर्वोच्च अदालतमा रिट विचाराधीन रहेकाले कास्की जिल्ला अदालत र रूपन्देही जिल्ला अदालतले यसबारे अन्तिम निर्णय गरेका छैनन्। सर्वोच्चको आदेशपछि मात्र जिल्ला अदालतहरूले निर्णय गर्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस