२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

युवा पलायन रोक्न जलजलाको जुक्ति: बिनाधितो ऋण दिएर गाउँमै उद्यमी बनाइँदै

शनिवार , फाल्गुण ३०, २०८२

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई बिनाधितो ऋण उपलब्ध गराएको छ । तीन वर्षअघि सुरु भएको यस कार्यक्रमबाट हालसम्म ५० जनालाई ४९ लाख ७५ हजार बिनाधितो ऋण लगानी गरेको हो । गाउँपालिकाका सूचना अधिकारी भेषनाथ आचार्यले ‘रुपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत शुक्रबार थप नौ लाख अनुदान उपलब्ध गराएको जानकारी दिए ।

“विभिन्न प्रकृतिका उद्यमको वर्गीकरण गरी छनोट भएका उद्यमीलाई किस्ता बन्दीमा फिर्ता गर्ने गरी एक जनालाई एक लाखका दरले अनुदान उपलब्ध गराएको,” उनले भने “वडा विकास कार्यक्रमले टोल विकास संस्थाका सदस्यलाई आत्मनिर्भर बनाउन तथा आर्थिकस्तर वृद्धि गर्न पछिल्लो तीन वर्षदेखि घुम्ती कोष परिचालन गरी सहयोग गर्दै आएको छ ।” यसअघि गत कात्तिकमा १२ जनालाई १२ लाख, विसं २०८१ मा २० जनालाई, २०८० मा नौ जनालाई सहयोग गरेको थियो । हालसम्म ५० जनालाई ४९ लाख ७५ हजार बिनाधितो ऋण लगानी गरेको गाउँपालिकाले जनाएको छ ।

थप ऋण पाउनेमा वडा नं १ का चक्रे दमाई, ३ का सोमबहादुर दमाई, दुर्गा रेग्मी, शन्तु भण्डारी, वडा नं ४ का रिता मल्ल, बसन्तीकुमारी मल्ल, दुर्गबहादुर दर्जी, वडा नं ६ का कौशिला नेपाली र वडा नं ७ का रोहितप्रसाद आचार्य रहेका छन् । सहुलियत ब्याजदरमा बिनाधितो प्राप्त गरेको घुम्ती कोषको रकम अवधि पुगेपछि टोल विकास संस्थालाई फिर्ता गर्नुपर्नेछ । असल उद्यमी निर्माण तथा उद्यमशीलताको विकास गर्ने, भौतिक पूर्वाधारका काममा गुणस्तर कायम गर्ने, कृषि तथा पशुजन्य उत्पादनमा आत्मर्निभर बनाउने, युवाको विदेश पलायनमा न्यूनीकरण गरी रोजगारीका अवसर सिर्जना गर्नेलगायत उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको छ ।

कृषि उद्यमलाई प्रभावकारी बनाउन र गरिबी न्यूनीकरण गर्ने उद्देश्यले घुम्ती कोष परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । उनका अनुसार हरेक वर्ष फरकफरक उद्यमीलाई विउँपुजी सहयोग गरिएको छ । पालिकाभित्रै व्यावसायिकरूपमा गरिने फलफूल, तरकारी उत्पादन, पशुपक्षीपालन, घरेलु औजार तथा उपकरण निर्माण गरी स्वरोजगारमूलक काम गरिरहेका उद्यमीको प्रोत्साहन हुनुका साथै यस क्षेत्रमा लाग्न चाहने युवालाई पनि प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट