काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
निगमका अनुसार अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायल मा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ ।
दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेत मा पेट्रोलको मूल्य १७१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज मा पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम भएको छ ।
निगमले अमेरिका–इजरायल–इरानबीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएकाले स्वदेशमा पनि मूल्य समायोजन गर्नुपरेको जनाएको छ ।
‘यस विषम परिस्थितिबीच नेपाल आयल निगम लिमिटेडले बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढाउनुपरेको छ,’ निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘यसबाट आम उपभोक्ता तथा सरोकारवालामा पर्ने असरप्रति निगम सचेत र संवेदनशील छ ।’
प्रतिक्रिया दिनुहोस