काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन घर–घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी चैते दसैँ पर्व मनाइँदैछ ।
वर्षमा चार नवरात्र पर्छन् । असोज शुक्ल पक्षको नवरात्र प्रचलित रहे पनि, आसाढ र पुस शुक्ल पक्षको नवरात्र धेरै साधकहरूले मनाउँदैनन् । केही साधकले भने यी नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्ने चलन छ ।
असोज शुक्ल पक्षको नवरात्रमा प्रतिपदादेखि घटस्थापना गरेर जमरा राखिन्छ र दशमीको दिन टीका र जमरा लगाउने परम्परा रहन्छ । तर चैते दसैँमा यस्तो परम्परा धेरै परिवारमा छैन। हनुमानढोकामा भने अष्टमीका दिन विधिवत् घटस्थापना र पूजा–आराधनासहित बलि दिने चलन छ । अष्टमीको दिनलाई चैते दसैँ र नवमीलाई रामनवमीको रूपमा विशेष महत्वका साथ मनाइन्छ ।
चैते दसैँको पूजा उपासनाको मुख्य उद्देश्य बडादसैँजस्तै लोकमा सुख, शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वाद प्राप्त गर्नु हो । यस पर्वमा परिवारका सदस्यबीच जमघट हुने परम्परा पनि रहन्छ ।
काठमाडौँ उपत्यकाका प्रमुख शक्तिपीठहरू—गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवी—मा चैते दसैँका अवसरमा विशेष पूजा हुन्छ ।
उपत्यकाबाहिरका शक्तिपीठहरू—पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवी—मा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ । धार्मिक विश्वास अनुसार, यी शक्तिपीठमा गई दर्शन गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने बताइन्छ ।
प्रतिक्रिया दिनुहोस