काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदन गुरुङलाई गृहमन्त्री बनाउने निर्णय गरेको छ । गोरखा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गुरुङले आज (शुक्रबार) नै पद तथा गोपनीयताको शपथ लिन लागेको रास्वपा स्रोतले जनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन् । १८२ सिटको स्पष्ट बहुमतसहित संविधानको धारा ७६ (१) बमोजिम नियुक्त भएका बालेनले आज दिउँसो १२ः३४ बजे शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गर्दैछन् । प्रधानमन्त्रीको शपथसँगै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ, जसमा सुदन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।
गोरखा–१ बाट भारी मतान्तरले विजयी भएका सुदन गुरुङ हामी नेपाली अभियानमार्फत सामाजिक सेवामा सक्रिय युवा नेता हुन् । २०८२ को जेनजी जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका गुरुङलाई रास्वपाले गृह प्रशासन सुधारका लागि अघि सारेको बुझिएको छ ।
प्रधानमन्त्री बालेन शाहले १५ देखि १८ सदस्यीय चुस्त मन्त्रिमण्डल बनाउने लक्ष्य राखेका छन्। जसमा शिशिर खनाललाई परराष्ट्र र सुदन गुरुङलाई गृह मन्त्रालय जस्ता महत्वपूर्ण पोर्टफोलियो दिने सहमति सभापति रवि लामिछाने र बालेन शाहबीच भइसकेको छ।
आजको शपथ ग्रहणसँगै बालेन शाहले १०० महत्वपूर्ण निर्णयको फाइलमा हस्ताक्षर गरेर आफ्नो कार्यकालको सुरुवात गर्ने तयारी गरेका छन्।
प्रतिक्रिया दिनुहोस