काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ। शनिबार बिहान साढे ८ बजे बस्ने गरी बोलाइएको उक्त बैठकले सरकारको कदमविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने तयारी गरेको छ ।
एमाले सचिव महेश बस्नेतले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा भएको बताएका छन् । उनले भने, “नेपाल राजनीतिक बन्दी नभएको देशका रूपमा चिनिन्थ्यो, तर बालेन सरकारले अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाएर देशलाई द्वन्द्वतर्फ धकेल्ने काम गरेको छ ।”
बस्नेतले सरकारी सम्पत्ति र आफ्नै प्रहरी चौकी जोगाउन नसक्ने सुरक्षाकर्मीहरू लोकतन्त्रका लागि लडेका नेताहरूलाई समात्न हजारौँको सङ्ख्यामा खटिएको देख्दा दुःख लागेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन एमालेको तर्फबाट आजैदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौँ।”
बिहान साढे ८ बजे बस्ने सचिवालय बैठकले ओलीको रिहाइको माग गर्दै काठमाडौँ लगायत देशभरका मुख्य सहरहरूमा विरोध प्रदर्शन, चक्काजाम र थप दबाबमूलक कार्यक्रमहरू घोषणा गर्ने बुझिएको छ। एमालेले यस घटनालाई वर्तमान सरकारको तानाशाही प्रवृत्तिको रूपमा व्याख्या गर्दै राजनीतिक र कानुनी दुवै मोर्चाबाट प्रतिवाद गर्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस