काठमाडौं । जेनजी आन्दोलन दमन प्रकरणमा पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज भिडियो कन्फ्रेन्सिङ (भर्चुअल) माध्यमबाट काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।
शनिबार भक्तपुरको गुण्डुबाट नियन्त्रणमा लिइएका ओलीको स्वास्थ्य अवस्था संवेदनशील देखिएपछि चिकित्सकहरूको सल्लाहअनुसार उनलाई भौतिक रूपमा अदालत नलगी प्रविधिको प्रयोग गर्न लागिएको हो ।
त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका ओलीको शनिबार र आइतबार बिहान गरिएको स्वास्थ्य परीक्षणमा उनलाई हिँडडुल गराउन जोखिम हुने देखिएको थियो। सरकारी वकिलको कार्यालयले सोही मेडिकल रिपोर्टका आधारमा भिडियो कन्फ्रेन्सिङमार्फत म्याद थपको अनुमति माग्ने तयारी गरेको छ।
अदालत परिसर र टिचिङ अस्पताल वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। एमाले कार्यकर्ताहरूको सम्भावित प्रदर्शन र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै काठमाडौँ जिल्ला अदालत र जिल्ला प्रहरी परिसर आसपासको सुरक्षा कडा पारिएको छ।
अर्का आरोपित पूर्वगृहमन्त्री रमेश लेखकलाई भने प्रहरीले भौतिक रूपमै अदालतमा उपस्थित गराइसकेको छ। दुवै नेतामाथि भदौ २३ को आन्दोलनमा ७६ जनाको ज्यान जाने गरी भएको दमनमा मुख्य योजनाकार को रूपमा अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस