काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संसदको नयाँ नियमावलीको मस्यौदा सभामुख डोलप्रसाद अर्याललाई बुझाएको छ ।
मंगलबार सिंहदरवारमा मस्यौदा समितिका सभापति गणेश पराजुलीले सभामुख अर्याललाई मस्यौदा बुझाएका हुन् । नयाँ नियमावली मस्यौदा बुझ्दै सभामुख अर्यालले प्रक्रियागत रूपमा नियमावली पारित गरिने जानकारी दिए । नियमावलीमा केहि असन्तुष्टि, कमी कमजोरी भए संसदबाट सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए । नयाँ नियमावली संसदलाई मार्गदर्शन गर्ने दस्तावेज भएपनि संविधान, पुराना नजिर र कानुनमा भएका व्यवस्थालाई आत्मसाथ गरेर नै अघि बढ्ने उनले बताए ।
त्यस्तै मस्यौदा समितिका सभापति पराजुलीले समयमा नै कानून बनाएर जनतालाई न्यायको सुनिश्चितता गर्ने, सुशासनको प्रत्याभूति गराउन सक्ने गरि नयाँ नियमावली तयार गरिएको बताए । विधेयकलाई समयमै अघि बढाउन समयसीमा लागू गर्ने, संसदीय समितिको निर्देशनलाई परिणाममूखी बनाउने लगाएत सुधारको पाटोमा काम गरेको उनको भनाइ छ ।
नयाँ नियमावली बनाउन चैत्र २३ गते बसेको प्रतिनिधिसभा बैठकले १५ सदस्यीय मस्यौदा समिति गठन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस