विराटनगर । उद्योग संगठन मोरङको महिला उद्यम समितिको आयोजना तथा एस्पायर कलेजको समन्वयमा स्वास्थ्य मैत्री र बजारमुखी खाजा बनाउने व्यावहारिक ज्ञान तथा सीप प्रदान गर्ने अभिप्रायका साथ महिलाहरुको लागि दुई दिने स्वस्थ स्न्याक्स बनाउने तालिम सम्पन्न भएको छ ।
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले मानिसहरुमा स्वास्थ्यप्रतिको सचेतना अभिवृृद्धि भईरहेको सन्दर्भमा पोषणयुक्त, सुरक्षित र स्वच्छ खानाको माग पनि उल्लेखनीय रूपमा वृद्धि भएको र यही आवश्यकतालाई मध्यनजर गरी उद्योग संगठन मोरङले तालिम आयोजना गरेको बताए । उनले तालिमले सहभागी महिलाहरुमा निहित स्न्याक्स बनाउने सीपलाई व्यवसायिक अवसरमा रूपान्तरण गर्ने दृष्टिकोण समेत विकास गराउने विश्वास व्यक्त गरे ।

उद्योग संगठन मोरङको कार्यसमिति सदस्य एवं महिला समिति इन्चार्ज किरण ब्यासले आजको परिवेशमास्वस्थ खाजा उत्पादन, आयआर्जनको राम्रो माध्यम बन्न सक्ने बताईन् । उनले यस प्रकारको तालिमले महिलाहरूमा रहेको सीपलाई व्यवसायिक रूपान्तरण गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी महिला उद्यम समितिको संयोजक जयन्ती आचार्यले तालिमले परिकार बनाउने मात्र नभई त्यसलाई आम्दानीको स्रोतमा रूपान्तरण गर्ने सोच विकास गराउने बताउदै आधुनिक प्रस्तुतीकरण र आकर्षक प्याकेजिङको महत्वमा जोड दिए । उनले राम्रो उत्पादनसंगै राम्रो प्रस्तुति भएमा मात्र बजारमा प्रतिस्पर्धा गर्न सकिने बताए ।
तालिमका प्रशिक्षक अखिलेश प्रताप सिंहले सहभागीहरूलाई स्वस्थ स्न्याक्स निर्माणका व्यावहारिक विधिहरू सिकाएको जानकारी दिदै स्वच्छता, खाद्य सुरक्षा तथा व्यावसायिक खाजा व्यवस्थापनसम्बन्धी ज्ञानले जिम्मेवार उद्यमी बन्न सहयोग पुग्ने बताए ।
महिलाहरूको सीप विकास, आयआर्जन तथा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको उक्त तालिमले सहभागीहरूलाई आत्मनिर्भर बन्न थप सहयोग पुग्ने अपेक्षा संगठनले लिएको छ ।
प्रतिक्रिया दिनुहोस