काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सङ्घीय सांसद हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् । साम्पाङले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीले संसद्को अपमान गरेको, संसदीय परम्परालाई बेवास्ता गरेको तथा लोकतान्त्रिक अभ्यासप्रति गैरजिम्मेवार व्यवहार देखाएको आरोप लगाउदै राजीनामा मागेका हुन् ।
साम्पाङले नीति तथा कार्यक्रम प्रस्तुतिको समयमा प्रधानमन्त्री अनुपस्थित रहेको, संसद्मा भएको छलफलमा सहभागी नभएको तथा जनप्रतिनिधिहरूले उठाएका प्रश्नको जवाफ नदिएको उल्लेख गरेका छन् । उनले यसलाई “संसदीय अभ्यासमाथिको गम्भीर अवमूल्यन” भन्दै प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका छन्।
विज्ञप्तिमा प्रधानमन्त्रीमाथि जनताको सार्वभौम संस्थाका रूपमा रहेको संसद्को सम्मान कायम राख्न नसकेको आरोप लगाउँदै साम्पाङले यस्तो प्रवृत्तिले लोकतान्त्रिक प्रणाली र संसदीय अभ्यास कमजोर बनाउने बताएका छन् ।
प्रधानमन्त्रीलाई “असक्षम र असफल”को संज्ञा दिँदै उनले नैतिकताको आधारमा पदबाट हट्न आग्रह गरेका छन् ।
“न्यूनतम कर्तव्यसमेत पूरा नगर्ने नेतृत्वले शासन सञ्चालनको नैतिक वैधता गुमाउँछ,” विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री शाह वा उनको सचिवालयले भने साम्पाङको आरोपबारे हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस