काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोटमा घरायसी विवाद बढ्दै जाँदा एक युवकको हत्या भएको छ। भिनाजुले चक्कु प्रहार गर्दा सालोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराति महोत्तरी घर भई थानकोट बस्दै आएका समी अहमद (भिनाजु) र जाकिर मन्सुरी (सालो) बीच घरायसी विषयलाई लिएर भनाभन भएको थियो । विवाद उग्र रूप लिँदै गएपछि भिनाजु समीले सालो मन्सुरीमाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएका मन्सुरीको ज्यान गएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार घटनामा संलग्न अभियुक्त समी अहमदलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मृतक मन्सुरीको शवलाई पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीयू टिचिङ हस्पिटल) पठाइएको छ। घटनाका सम्बन्धमा थानकोट प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस