२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक काठमाडौंमा सम्पन्न

बिहिवार , जेठ १४, २०८३

काठमाडौं । नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक काठमाडौंमा सम्पन्न भएको छ ।

नेपाल र स्विट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसर पारेर आयोजित उक्त बैठकमा दुई देशबीचको समग्र सम्बन्ध र सहकार्यका विविध पक्षबारे समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा दुवै पक्षले दुई देशबीचको लामो समयदेखिको मित्रता र घनिष्ठ साझेदारीको प्रशंसा गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने तथा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार नेपाली पक्षले स्विस पक्षलाई नेपालको पछिल्लो राजनीतिक तथा आर्थिक अवस्थाबारे जानकारी गराउँदै सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, डिजिटल रूपान्तरण तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई नयाँ सरकारका प्राथमिकताका रूपमा प्रस्तुत गरेको थियो । साथै जलविद्युत् उत्पादन तथा प्रसारण, पर्यटन र सूचना प्रविधि क्षेत्रको विकास सरकारका प्रमुख आर्थिक लक्ष्य रहेको जानकारी पनि गराइएको थियो ।

नेपाली पक्षले स्विस सरकारद्वारा स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसनमार्फत नेपाललाई निरन्तर प्राथमिकतामा राखिएकोप्रति आभार व्यक्त गरेको थियो । सङ्घीयता कार्यान्वयन, झोलुङ्गे पुल निर्माण, आप्रवासन व्यवस्थापन, सामुदायिक वन, प्राविधिक तथा व्यावसायिक शिक्षा र विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धिजस्ता क्षेत्रमा स्विट्जरल्याण्डले पु¥याएको सहयोगको प्रशंसा गर्दै नेपालको प्राथमिकताअनुसार सहयोगको दायरा अझ विस्तार गर्न आग्रह गरिएको थियो ।

बैठकमा जलवायु परिवर्तनलगायत साझा चासोका क्षेत्रीय तथा विश्वव्यापी विषय र बहुपक्षीय मञ्चमा सहकार्यका विषयमा पनि विचार आदानप्रदान भएको थियो । दुवै पक्षले प्रस्तावित समझदारीपत्र तथा सम्झौताहरू शीघ्र निष्कर्षमा पुर्याउने सहमति जनाएका छन् ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका युरोप महाशाखा प्रमुख तथा सहसचिव गणेशप्रसाद ढकाल र स्विट्जरल्याण्डको सङ्घीय परराष्ट्र विभागअन्तर्गत एसिया तथा प्रशान्त महाशाखाका प्रमुख मार्कस लाइटनरले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बैठकको सहअध्यक्षता गरेका थिए । 

नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको युरोप महाशाखा तथा सम्बन्धित मन्त्रालयका अधिकारी सहभागी थिए भने स्विस प्रतिनिधिमण्डलमा नेपालका लागि स्विस राजदूत डानिएल मेउलीसहित उक्त महाशाखाका पदाधिकारी र यहाँस्थित स्विस दूतावासका अधिकारी सहभागी थिए ।

यसैगरी, बुधरबार नै स्विस प्रतिनिधिमण्डलले परराष्ट्र सचिव अमृतबहादुर राईसँग उनको कार्यकक्षमा शिष्टाचार भेट गरेको थियो । उक्त अवसरमा दुवै पक्षले संयन्त्रको बैठकका उपलब्धिप्रति सन्तोष व्यक्त गरेका थिए ।

नेपाल र स्विट्जरल्याण्डबीच संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा सन् २०१५ नोभेम्बर ४ मा हस्ताक्षर भएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ