रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी (पासपोर्ट) जिल्ला हुलाक कार्यालयमार्फत सिधै घरघरमै पुर्याउने सेवा सुरु गरेको छ । सरकारको सेवा जनताको घरदैलोमै पुर्याउने उद्देश्यअनुसार यो सकारात्मक अभियानको थालनी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच गत वैशाख २४ गते भएको सम्झौतापछि पहिलो चरणमा २१ वटा राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण गर्दै यो अभियान सुरु गरिएको हो ।
अभियानको सुरुवात गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिनेशसागर भुसालले गौर नगरपालिका–२ महादेवपट्टिस्थित सेवाग्राही राजु राम र विकास पासवानको घरमै पुगेर राहदानी हस्तान्तरण गरेका थिए ।
राहदानी वितरणमा हुलाक सेवाको प्रयोग गरिएपछि सेवाग्राहीलाई राहदानी लिनकै लागि फेरि कार्यालयसम्म धाउनुपर्ने झन्झट अन्त्य भएको प्रजिअ भुसालले बताए । यसबाट सेवाग्राहीको समय र खर्च दुवै बचत हुनेछ, उनले भने, जिल्ला प्रशासन र हुलाक कार्यालयको सहकार्यमा राहदानी वितरण प्रणालीलाई थप सहज र प्रभावकारी बनाइएको छ।
घरमै राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले हुलाक शुल्कस्वरूप मात्र ५५ रुपैयाँ बराबरको टिकट खर्च व्यहोर्नुपर्ने व्यवस्था गरिएको जिल्ला हुलाक कार्यालयका प्रमुख देवनाथ यादवले जानकारी दिए।
कार्यालय प्रमुख यादवका अनुसार पुराना तथा लामो समयदेखि वितरण हुन बाँकी रहेका पासपोर्टहरूसमेत सम्बन्धित स्थानीय तहसँग समन्वय गरी हुलाकमार्फत नागरिकको घरमै पुर्याउने तयारी भइरहेको छ।
यो सेवा विशेष गरी ग्रामीण क्षेत्रका नागरिक, ज्येष्ठ नागरिक, महिला, विद्यार्थी तथा वैदेशिक रोजगारीका लागि तयारीमा रहेका सेवाग्राहीका लागि निकै उपयोगी र राहतमूलक हुने विश्वास लिइएको छ।
प्रतिक्रिया दिनुहोस