२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रास्वपा सभापति लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री खनाल भारत जाने

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने स्वदेश फर्किएलगत्तै भारत भ्रमणमा जाने भएका छन् । नेपाल–भारतबीच विकास सहकार्य, व्यापार तथा आपसी हितका विषयमा छलफल गर्न भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल भारत जान लागेका हुन् ।

रास्वपा सभापति लामिछानेको भारत भ्रमण टोलीमा सहभागी प्रतिनिधिसभा सदस्य दीपक बोहराका अनुसार परराष्ट्रमन्त्री खनालको भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । यद्यपि भ्रमणको औपचारिक मिति भने सार्वजनिक गरिएको छैन ।

भारत भ्रमणका क्रममा सभापति रवि लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा प्रधानमन्त्री मोदीले नेपालसँगको सहकार्यलाई थप प्रभावकारी बनाउन भारत सकारात्मक रहेको बताउँदै नेपालको प्राथमिकताअनुसारका प्रस्ताव र योजनाबारे जानकारी गराउन आग्रह गरेको बताइएको छ ।

सोही भेटमा उठेका विषयलाई थप अघि बढाउने उद्देश्यले मन्त्री खनाल भारत जान लागेको स्रोतको भनाइ छ । भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस जयशंकर, वाणिज्यमन्त्री पीयूष गोयललगायत उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यसअघि पनि मन्त्री खनालको भारत भ्रमणको तयारी भएको थियो । तर विभिन्न कारणले भ्रमण स्थगित भएपछि कार्यक्रम अघि बढ्न सकेको थिएन। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अहिले सोही भ्रमणलाई पुनः तालिका मिलाएर अगाडि बढाउन लागिएको हो ।

यता, भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर तथा भारतीय जनता पार्टी (भाजपा)का नेता नितिन नवीनलगायत उच्चस्तरीय नेताहरूसँग भेटवार्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ