हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का सबै मन्त्रीले पार्टीको केन्द्रीय निर्देशनअनुसार आज सामूहिक रूपमा राजीनामा दिने भएका छन्।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री तथा एमाले नेता किरण थापामगरले पार्टी हाइकमाण्डबाट प्राप्त निर्देशनअनुसार सरकारबाट बाहिरिने प्रक्रिया अघि बढाइएको जानकारी दिए।
‘हामीलाई पार्टी हाइकमाण्डबाट आवश्यक निर्देशन आएको छ। सोही निर्देशनअनुसार अगाडि बढिरहेका छौं ।’ उनले भने।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पनि पार्टी केन्द्रको निर्देशनअनुसार सरकारमा रहेका सबै मन्त्रीले आजै राजीनामा बुझाउने पुष्टि गरे ।
‘पार्टी अध्यक्षसहित शीर्ष नेतृत्वले सरकार छाड्न निर्देशन दिनुभएको छ, सोही निर्णयअनुसार आज हाम्रा सबै मन्त्रीले सामूहिक रूपमा राजीनामा दिनुहुन्छ ।’ थपलियाले भने।
उनका अनुसार सुदूरपश्चिम प्रदेशको राजनीतिक अवस्थाका कारण केही समय बागमती सरकारमा रहने सोच भए पनि मुख्यमन्त्रीले सत्ता साझेदार दलसँग कुनै परामर्श नगरी एमालेका मन्त्रीलाई विनाविभागीय बनाएको निर्णयपछि सरकारमा बसिरहन उपयुक्त नदेखिएको हो।
मुख्यमन्त्रीले कुनै छलफल नगरी मन्त्रीहरूलाई विनाविभागीय बनाउनुभयो। मन्त्रीलाई जगेडामा राख्ने काम भयो। यस्तो अवस्थामा सरकारमा बस्नु उचित हुँदैन भन्ने हाम्रो पनि निष्कर्ष थियो। पार्टी केन्द्रले पनि त्यही निर्देशन दिएको छ थपलियाले भने।
सरकारबाट बाहिरिने निर्णय पार्टीको केन्द्रीय राजनीतिक रणनीतिअन्तर्गत भएको संकेत गर्दै उनले यसबारे थप टिप्पणी गर्न चाहेनन्। पार्टीको निर्णय सबै मन्त्रीले पालना गर्ने उनको भनाइ छ।
बागमती प्रदेश सरकारमा एमालेका तर्फबाट स्वास्थ्यमन्त्री किरण थापामगर, कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी तथा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठ सहभागी छन्।
एमालेका सबै मन्त्रीले राजीनामा दिएसँगै बागमती प्रदेश सरकारको सत्ता समीकरण फेरिने निश्चित भएको छ यो सँगै इन्द्र बानियाँ मुख्यमन्त्री नेतृत्वको सरकार प्रदेश सभामा अल्पमतमा परेको छ ।
प्रतिक्रिया दिनुहोस