काठमाडौं । अर्थमन्त्री जनार्दश शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै हुन्छ भनेर अफवाह फैलाइएकोमा आपत्ति जनाएका छन् । अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले यसरी अफवाह फैलाउनु राष्ट्रघात भएको बताए ।
‘चुनावका लागि पैसा हुँदैन, वृद्धभत्ता दिन पैसा दिन पुग्दैन भनिएको छ । त्यस्तो कुनै समस्या छैन’ शर्माले भने, ‘सबै अफवाहरुलाई जोडेर श्रीलंका हुन्छ भनिएको छ । श्रीलंका जस्तो हुन्छ भनेर अफवाह फैलाउनु राष्ट्रघात हो ।’
यसअघि नेकपा एमालेका अध्यक्ष केपी ओलीले अब राज्यले तलब र सामाजिक सुरक्षा भत्ता दिन नसक्ने भन्दै चेतावनी दिएका थिए । त्यस क्रममा ओलीले नेपाल पनि श्रीलंका जस्तै बन्न लागेको भन्दै सरकारको आलोचना गरेका थिए । ओलीको सोही अभिव्यक्तिलाई लक्षित गर्दै अर्थमन्त्री शर्माले त्यस्तो अवस्था नरहेको दाबी गरेका थिए ।
पत्रकार सम्मेलनमा शर्माले गभर्नर महाप्रसाद अधिकारीमाथि सुरु गरिएको छानबिन कानुनसम्मत नै भएको पनि बताएका थिए । ‘एक महिनाभित्र सबै कुरा बाहिर आउँछ । यो सामान्य कुरा हो ।’