काठमाडौं । सल्यान जिल्ला सभापति केशबहादुर विष्टले स्थानीय चुनावका प्रतिवेदन केन्द्रमा पठाउनेदेखि मनोनीतसम्मका निर्णय एकलौटी गरेको भन्दै सल्यान कांग्रेसमा बिबाद देखिएको छ । बिबाद बढ्दै गएपछि सोमबार बसेको जिल्ला कार्यसमिति बैठकले कुनै निर्णय गर्न सकेन ।
सभापति विष्टले गत चैत १३ गते ९ जनालाई जिल्ला सदस्य मनोनीत गरेका थिए । पार्टी पदाधिकारीसँग छलफल नगरी एकलौटी हिसावले जिल्ला सदस्य मनोनीत गरिएको भन्दै पदाधिकारीले नै सभापति विष्टको विरोध गरेका छन् ।
उपसभापति सन्तोष केसी र चक्र देवकोटा, सचिवहरू एकराज बुढाथोकी र प्रकाश भण्डारी, सहसचिवहरू जनकराज गौतम र पदम बुढाथोकी लगायतले सभापति विष्टले एकलौटी निर्णय गरेको बताएका छन् । उनीहरूले सोमबार पत्रकार सम्मेलन गर्दै सभापतिले एकलौटी निर्णय गरेकोले विरोध गर्नुपरेको बताएका थिए ।
सभापतिले जिल्ला कार्यसमितिमा प्रस्ताव नै नल्याई जिल्ला सदस्य मनोनीत गरेको उनीहरूको आरोप छ । यस्तै स्थानीय तहमा कांग्रेसको अवस्थाबारे केन्द्रलाई प्रतिवेदन पठाउँदा पनि कार्यसमितिमा छलफल नगरिएको उनीहरूको भनाइ छ ।
सभापति विष्टले भने विधि विधानअनुसार नै आफूले काम गरेको र एकलौटी निर्णय नगरिएको दाबी गरेका छन् । उनले सोमबारको बैठकमा जिल्ला कोषाध्यक्ष मनोनीत गर्ने र संसदीय समिति गठन गर्ने एजेन्डा रहे पनि कुनै निर्णय नभएको बताए ।
‘कोषाध्यक्ष मनोनीत र संसदीय समिति गठन गर्ने एजेन्डा थियो । अधिवेशनका बेला मसँग सभापतिमा चुनाव लड्ने पक्षलाई केही स्थान दिएर संसदीय समिति गठन गर्न खोजेको थिएँ तर पदाधिकारीहरूले नै भाग खोज्नुभयो,’ उनले भने, ‘पदाधिकारीले नै भाग खोज्ने यस्तो अन्त कतै हुँदैन, अर्को बैठक वैशाख ३ मा बस्छौं ।’