१० वैशाख, काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ ।
शनिबार बसेको सचिवालय बैठकले काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
स्थापित काठमाडौँ महानगरपालिकाका पूर्वमेयर हुन् । २०५४ सालको स्थानीय निर्वाचनमा उनी काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।
नेकपा एमालेका तर्फबाट निर्वाचित स्थापितले ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौँ’भन्ने नारा ल्याएका थिए ।
स्थापितलाई माइतीघर मण्डला निर्माता समेत भनिन्छ २०५५/५६ सालअघि अहिले माइतीघर मण्डला भएको ठाउँमा गुजमुज्ज परेका पुराना घर थिए । स्थापित मेयरमा निर्वाचित भएपछि ती घर हटाएर मण्डला बनाउने घोषणा गरेँ । तर धेरैले पत्याएनन् । मान्छेहरूको अवरोधका बीच १७ दिनमा २२ वटा घर हटाएर उनले अहिलेको मण्डला बनाएका थिए ।
अहिले माइतीघर मण्डलामा पुग्नेबित्तिकै काठमाडौँ बासीले भनिहाल्छन्, ‘यो चाहिँ केशव स्थापितले गरेकै हो, है !’ त्यो मण्डला अहिले राजनीतिक पार्टीका प्रदर्शन र अनशन गर्ने तथा विरोध, देशभक्ति पोख्ने साझा थलो बनेको छ ।
त्यस्तै अहिलेको शान्तिवाटिकामा पनि पुराना घर थिए । स्थापित आएपछि ती सब हटाएँ र साँघुरिएर कुरूप भइसकेको रत्नपार्कलाई व्यवस्थित उनकै कार्यकालमा गरे ।
अहिलेको बागमती कोरिडोर, अन्य नदी किनाराका कोरिडोर, तीनकुनेको पार्क योजनालगायत सुरु उनै स्थापितले गरेका थिए।