काठमाडौं । गोरखामा सत्ता गठबन्धनमा तालमेल हुन नसकेपछि नेपाली काँग्रेस बाहिरिएको छ । गठबन्धनमा सहभागी चार दलमा चुनावी तालमेलका विषयमा सहमति हुन नसकेपछि काँग्रेस मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने भन्दै पत्रकार सम्मेलन गरेर बाहिरिएको हो । अब कांग्रेसले ११ वटै पालिका र ९४ वडामा एकल उमेदवारी दर्ता गराउने नेपाली कांग्रेसका सभापति नन्दप्रसाद न्यौपानेले बताए ।
‘गठबन्धन जीवित राख्न चाहन्थ्यौँ, केही साथीको महत्त्वाकांक्षा र अपरिपक्वताले सँगै जान सकेनौँ,’उनले भने,‘अब आफ्नै संगठनको तागत र बलमा एकल हिसाबले निर्वाचनमा जान्छौँ ।’ निर्वाचन व्यवस्थापनको सन्दर्भमा दलबीचको संवादको ढोका भने बन्द नगरेको उनले बताए ।
केन्द्रीय संयन्त्रको नीतिभित्र बसेर मित्रवत प्रतिस्पर्धामा उत्रने निर्णय भएको न्यौपानेले बताए । ‘नमिलेपछि मित्रवत प्रतिस्पर्धा गरौँ, एक्लै लड्छौँ भन्न त पाइयो,’ उनले भने । आइतबार सबै वडा र पालिकाको उम्मेदवार टुंग्याएर सोमबार मनोनयन दर्ता गर्ने उनले बताए ।