काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको बताएका छन् । शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधिको एकल उम्मेदवारी परेको बताए ।
उनले एकल उम्मेदवारी परेसँगै पार्टीको तर्फबाट २ जना गाउँपालिका अध्यक्ष, १ जना गाउँपालिका उपाध्यक्ष, ६ जना वडाअध्यक्ष र २६ जना सदस्यहरु निर्विरोध निर्वाचित भएको बताए । ‘यो चुनावको निम्ति मनोनयन दर्ताको समयमा निर्विरोध रुपमा मनोनयन दर्ता भएका केही व्यक्तिहरु मध्ये हाम्रो पार्टीसँग जोडिएका, नेकपा (एकीकृत समाजवादी) सँग जोडिएका, २ जना गाउँपालिकाका अध्यक्षहरु निर्विरोध निर्वाचित भए । १ जना उपाध्यक्ष निर्विरोध निर्वाचित हुनुभयो । ६ जना वडाध्यक्ष निर्विरोध निर्वाचित हुनुभयो । २६ जना सदस्यहरु निर्विरोध निर्वाचित हुनुभयो ।’ नेपालले भने– ‘झण्डै ३५ जना व्यक्तिहरुले विजय हासिल गरेर हाम्रो पार्टीको झण्डालाई, हामीले अघि सारेको कलम चिन्ह त्यो बोक्ने पार्टी नेकपा (एकीकृत समाजवादी) को विजयको झण्डा फहराउँदै उहाँहरु अगाडी बढ्नुभयो । प्रतिस्पर्धा गर्न कसैले आँट गरेन उहाँहरुसँग ।’
उनले गठबन्धनमा आवद्ध दलहरु सामुहिक रुपमा अगाडी बढ्नुपर्ने बताए । उनले गठबन्धनभित्रका दलले अहंकार राख्नु नहुने र वस्तुनिष्ठ भएर चल्नुपर्ने बताए । स्थानीय तह निर्वाचनको उम्मेदवारीमा कतिपय ठाउँमा तलमाथि भएको सन्दर्भमा गठबन्धनभित्र समिक्षा हुने पनि अध्यक्ष नेपालले बताए ।
उनले भने– ‘उम्मेदवारीको बारेमा तलमाथि भएको होला कतिपय ठाउँहरुमा । हाम्रा दुखेसाहरु होलान् । आलोचना पनि होलान हाम्रा गठबन्धनका अन्य पार्टीहरुप्रति । त्यो आफ्नो ठाउँमा हामी विवेचना गरौँला । त्यस्तो गर्न हुँदैन पनि भनाँैला । अहंकार नराख्नुपर्ने हो पनि भनौँला । वस्तुनिष्ठ भएर चल्नुपर्दछ भन्ने हामी पनि भनौँला । अरुले पनि भन्लान । प्रत्येक व्यक्तिले आफुलाई केन्द्रबिन्दुमा राखेर नै परिस्थितिको विश्लेषण र मुल्यांकन गरेका थिए, छन् भन्ने पनि होला । त्यसको हामी समिक्षा गर्दै जाउँला । तर हामी खासगरीकन के चाहान्छौँ भने म होइन हामी भन्ने भावनाका साथ, आफु होइन हाम्रो ध्येय, उद्देश्यलाई हासिल गर्ने काममा सफलता पाउने सोचका साथ अगाडी बढ्न सक्नुपर्छ । तब न हामी कम्युनिष्ट भन्नेकुराको अर्थ छ ।’
उनले एकीकृत समाजवादी पार्टी २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीकै निरन्तरता भएकाले जनतामा परिक्षण भइसकेको पार्टी भएको बताए । अध्यक्ष नेपालले पार्टीको संगठनलाई टोल–टोलसम्म बिस्तार गर्न पनि नेता, कार्यकर्ताहरुलाई आग्रह गरे ।