काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेलको सहमति भएको छ । बागलुङ नगरपालिकाको मेयर नेकपा एमाले र उपमेयर राप्रपाले लिने गरी सहमति भएको हो ।
अब एमाले उम्मेदवार जनक पौडेललाई राप्रपाले र राप्रपाका उपमेयरका उम्मेदवार सञ्जय खड्कालाई एमालेकले समर्थन गरेका छन् ।
यो सहमतिपछि बागलुङको मेयरमा राप्रपा उम्मेदवार सञ्जु नेपाली र उपमेयरमा एमाले उम्मेदवार पवित्रा रोकाले मनोनयन फिर्ता लिने सहमति भएको दुबै दलका नेताहरुले बताएका छन् ।
त्यस्तै राप्रपाले केही वडा सदस्य पनि पाएको छ । बागलुङ नगरपालिकाका १४ वटा वडामध्ये वडा नम्बर २, ३, ४, ७, ११, १२ र १३ नम्बर वडामा एक एक वडा सदस्य राप्रपाले पाएको छ । अन्य पदम भने राप्रपाले एमाले उम्मेदवारलाई सहयोग गर्ने नेकपा एमाले बागलुङका प्रचार विभाग प्रमुख चन्द्र प्रकाश शर्माले बताए ।
उनका अनुसार जिल्लाका अरु स्थानीय तहमा पनि मिलेर निर्वाचनमा जाने सहमति राप्रपासँग भएको छ । बागलुङका अरु ९ स्थानीय तहमा स्थानीय समझदारीको आधारमा एक अर्कालाई सहयोग गरेर जाने सहमति भएको वार्ता टोलीका सदस्य तथा राप्रपाका सदस्य शैलेन्द्र कुमार श्रेष्ठले बताए ।