काठमाडौं । “गाडी चल्ने र बिजुली बल्ने सपना देखेकै हो । तर, गाउँकै आँगनमा अस्पताल बन्ला भन्ने सपना देखेका थिएनौँ,” काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं। ९ का बद्रीप्रसाद लम्सालले भने । गाउँमा २०४० सालमै बाटो बन्यो । गाडी चल्यो । २०५० सालबाटै बिजुली बले पनि अस्पताल बन्ला भनेर सपनामा नसोचेको लम्सालले भने ।
“अनमी र सीएमएलाई डाक्टर मानेर उपचार गराउँदै आएका हामीले गाउँमा सुविधासम्पन्न अस्पताल बन्ने कुनै सपना नै देखेका थिएनौँ,” लम्सालले थप्पे, “सङ्घीयताले त नदेखेको सपना पनि पूरा गरायो ।” ४० वर्ष शिक्षण पेसामा रहेर निवृत्त जीवनमा रहेका यज्ञप्रसाद सापकोटाले गाउँमा अस्पताल बनेपछि आश्चर्य भएको बताए ।
“सुरुवाती दिनमा बोराको स्ट्रेचर बनाएर बनेपासम्म बिरामी बोकेर लैजाने बाध्यता थियो । अब गाउँकै अस्पतालमा उपचार गराउन पाउने भइयो,” सापकोटाले थपे । “औषधि किन्न पनि धुलिखेल र काठमाडौँसम्म जानुपर्ने बाध्यता रहेको मजस्ता दीर्घरोगीले गाउँमै सेवा पाउने भएपछि असाध्यै खुसी भएका छौँ,” उनले भने ।
विक्रम संवत् २०२७ सालतिर सेनामा प्राथमिक उपचार गराउने तालिम पाएका कम्पाउन्डर कमलप्रसाद दाहालले हिगुवापाटीको पाटीमा बसेर मण्डनदेउपुरमा स्वास्थ्य सेवा सुरुवात गरेका थिए ।
त्यो बेला गाउँमा अस्पताल बन्ला भनेर कसैले सपनासमेत देखेको थिएन ।“घाउ–खटिराको चिरफार गरिदिने र काटेको ठाउँमा रगत रोकिदिने काम उहाँले धेरै गर्नुभयो,” लम्सालले भने । रगत रोकिदिने उपचारबाट सुरु भएको गाउँमा ५१ वर्षपछि अस्पताल बनेको हो । यो समाचार गोरखापत्र दैनिकमा छ ।